काठमाडौं – काठमाडौं महानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका अव्यवस्थित अस्थायी टहराहरू डोजर लगाएर भत्काएको छ। महानगरपालिकाको सहर व्यवस्थापन महाशाखा र नगर प्रहरीको टोलीले बल्खुस्थित नदी किनार क्षेत्रमा बनाइएका टहराहरू हटाएको हो। बागमती नदीको किनार अतिक्रमण गरी बनाइएका ती टहराहरूले वातावरणीय जोखिम बढाएको र ढल निकासमा समस्या सिर्जना गरेको भन्दै महानगरले हटाउने निर्णय गरेको जनाएको छ।
महानगरका अनुसार अवैध संरचना हटाउनु अभियानअन्तर्गत यसअघि नै सूचना जारी गरिएको थियो। सूचनापछि पनि टहरा नहटाइएकाले डोजर प्रयोग गर्नुपरेको महानगरको भनाइ छ। कारबाही क्रममा ठूला अप्रिय घटना भने नभएको र सुरक्षाका लागि प्रहरी परिचालन गरिएको थियो। प्रभावितहरूलाई आफूले बनाएका संरचना सामान हटाउन समय दिइएको महानगरले जनाएको छ। महानगरपालिकाले आगामी दिनमा पनि सार्वजनिक जग्गा अतिक्रमण रोक्ने र अव्यवस्थित संरचना हटाउने अभियान निरन्तरता दिने जनाएको छ।






