काठमाडौं महानगरपालिका नगर प्रमुख बालेन्द्र साहले हरेक वर्ष ५ हजारजनालाई नयाँ रोजगारी दिने घोषणा गरेका छन्। आइतबार भिडियो सन्देश जारी जर्दै मेयर बालेनले तीन बर्षभित्र कम्तीमा १५ हजारलाई सीपमुलक तालिम समेत दिने घोषणा गरेको हुन्। बालेनले श्रम बैंक मार्फत रोजगार दिने योजना सार्बजनिक गर्दै महानगरमा रहेका दक्ष, अर्धदक्ष तथा अदक्ष कामदारहरु र रोजगार दाताहरूलाइ एउटै प्लेटफर्ममा ल्याएर श्रम बैंकको स्थापना गर्दै रोजगारीको अवसर सिर्जना गर्ने योजना ल्याएका हुन्।महानगरका स्थायी बासिन्दा, महानगरका करदाताहरु तथा महानगरभित्र भाडामा बस्ने सबै नेपाली नागरिकहरु महानगरको यस श्रम बैंकमा आबद्ध हुन सक्ने बताइएको छ। मेयर बालेनले आइतबार भिडियो सन्देश जारी गर्दै श्रम बैंकमा आवद्ध भएका जनशक्तिलाई ३ क्षेत्रमा विभाजन गरेर परिचालन गर्ने उल्लेख गरेका छन्।
महानगरको ‘जब पोर्टल’ मार्फत अन्य सरकारी निकाय, गैरसरकारी संघ संस्था, प्राइभेट कम्पनी, संघ संस्था, अन्तर्राष्ट्रिय संघ संस्थाहरु परिचालन गर्ने उनले बताएका छन्। श्रम बैंकमा सूचीकृत भएका सबै किसिमका कामदारहरुलाई काम गर्दाका महानगरले अनिवार्य बीमा गरिदिने र महानगरको गौरवको योजना मार्फत विभिन्न १५ स्थानहरुमा महानगरको आफ्नै ट्रेनिङ सेन्टर स्थापना गर्ने योजना समेत बालेनले सार्बजनिक गरेका हुन।






