काठमाडौं । काठमाडौं महानगरपालिकाले सानो गौचरनस्थित महेन्द्र भवन माध्यमिक विद्यालयलाई ‘महेन्द्र भवन महानगर विद्यालय’ नामबाट सञ्चालन गर्ने भएको छ । विद्यालयको गुमेको सामाजिक प्रतिष्ठा पुनःस्थापित गर्दै गुणस्तरीय र समावेशी शिक्षाको केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित महानगरपालिका र महेन्द्र भवन शैक्षिक गुठीबीच सम्झौता भएको हो ।

महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल र वडा नं. ५ का अध्यक्ष वीरेन्द्र प्रजापतीको रोहवरमा आयोजित कार्यक्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं र महेन्द्र भवन शैक्षिक गुठीका अध्यक्ष प्रा. डा. प्रमिला राईले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार विद्यालयलाई आधुनिक पूर्वाधार, प्रविधिमैत्री सिकाइ वातावरण र गुणस्तरीय शैक्षिक व्यवस्थापनसहित नमुना सार्वजनिक विद्यालयका रूपमा सञ्चालन गरिनेछ । महानगरपालिकाले विद्यालयको शैक्षिक गुणस्तर मात्र नभई समुदायमा रहेको विश्वास र सामाजिक प्रतिष्ठासमेत पुनर्जीवित गर्ने लक्ष्य राखेको जनाएको छ ।

महानगरपालिकाका अनुसार सार्वजनिक विद्यालयलाई प्रतिस्पर्धी र आकर्षक बनाउने अभियानअन्तर्गत महेन्द्र भवन महानगर विद्यालयलाई उत्कृष्ट शैक्षिक गन्तव्यका रूपमा विकास गरिनेछ । विद्यालयमा अध्ययनरत विद्यार्थीले आधुनिक, समावेशी र जीवनोपयोगी शिक्षा प्राप्त गर्ने वातावरण निर्माण गरिने जनाइएको छ ।

सार्वजनिक शैक्षिक गुठी र महानगरपालिकाबीचको यो सहकार्यलाई काठमाडौं महानगरभित्रका सार्वजनिक विद्यालयको सुधार र सुदृढीकरणका लागि महत्वपूर्ण पहलका रूपमा हेरिएको छ । महानगरपालिकाले आगामी दिनमा पनि सार्वजनिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि यस्तै सहकार्यलाई निरन्तरता दिने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय