महोत्तरी — महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित कालापानीमा प्रदर्शनकारीले अवरुद्ध गरेको बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ। आन्दोलनरत पक्षसँग मौखिक सहमति भएपछि बिहानदेखि बन्द रहेको राजमार्ग खुलेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिएका छन्। स्थानीय सुकुमवासी तथा अव्यवस्थित बसोवासीहरूले आफूहरूमाथि झुठा मुद्दा लगाइएको भन्दै शनिबार बिहानदेखि कालापानी क्षेत्रमा सडक अवरुद्ध गर्दै प्रदर्शन गरेका थिए।

गत जेठ ११ गते स्थानीय र वन प्रशासनबीच भएको विवादपछि उत्पन्न घटनामा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको भन्दै स्थानीय आक्रोशित बनेका हुन्। उनीहरूले घटनामा संलग्न नभएका व्यक्तिहरूमाथि मुद्दा लगाइएको दाबी गर्दै मुद्दा फिर्ताको माग गर्दै आएका छन्।

जेठ ११ गते साँझ कालापानीस्थित वन क्षेत्रमा रहेको बस्ती खाली गराउन सूचना दिन पुगेका वन कर्मचारीलाई स्थानीयले राति १२ बजेसम्म नियन्त्रणमा राखेका थिए। सोही क्रममा बर्दिबास नगरपालिका–३ कालापानीमा डिभिजन वन कार्यालयको बा।२ झ २७४९ नम्बरको सरकारी गाडीमा आगजनी भएको थियो।

उक्त घटनापछि स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच घटनाको जिम्मेवारी सरकारले लिने, घाइतेहरूको उपचार राज्यले गर्ने र तत्काल कसैलाई धरपकड नगर्ने विषयमा सहमति भएको स्थानीयको भनाइ छ। तर, प्रहरीले घटनाबारे मुद्दा दर्ता गरी अनुसन्धान थालेपछि पुनः विरोध सुरु भएको हो।

यसअघि बुधबार कालापानीमा बसेको सर्वदलीय बैठकले चार जनामाथि लगाइएको मुद्दा फिर्ता गर्न स्थानीय प्रशासनलाई तीन दिनको अल्टिमेटम दिएको थियो। शुक्रबार अल्टिमेटम सकिएपछि स्थानीयहरू शनिबार बिहानैदेखि राजमार्ग अवरुद्ध गर्दै आन्दोलनमा उत्रिएका थिए।

राजमार्ग अवरुद्ध भएपछि प्रमुख जिल्ला अधिकारी यादव र जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकुमार सारु मगर कालापानी पुगेर आन्दोलनरत पक्षसँग छलफल गरेका थिए। छलफलपछि भएको मौखिक सहमतिसँगै राजमार्ग सञ्चालनमा आएको प्रशासनले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय