काठमाडौं । चन्द्रागिरि नगरपालिका–८, मातातीर्थस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको ल्होंखा (लोंहोकोट) क्षेत्रमा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सफलतापूर्वक सम्पन्न भएको छ । धार्मिक आस्था, सांस्कृतिक संरक्षण र सम्पदा संवद्र्धनलाई एकसाथ जोड्ने उद्देश्यले आयोजना गरिएको महायज्ञले स्थानीय समुदायलाई एकताबद्ध बनाउनुका साथै ऐतिहासिक सम्पदाको संरक्षणप्रति थप सचेत बनाएको आयोजकले जनाएको छ ।
मातातीर्थस्थित ल्होंखा विष्णु भैरव समितिद्वारा आयोजित महायज्ञबाट संकलित सहयोग रकम ऐतिहासिक एवं प्राकृतिक सम्पदाका रूपमा परिचित श्री विष्णु भैरव मन्दिरको संरक्षण, संवद्र्धन तथा गणेश मन्दिर निर्माणमा खर्च गरिने समितिले जानकारी दिएको छ ।



महायज्ञको समापन कार्यक्रममा सभामुख डोलप्रसाद अर्यालको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागी श्रद्धालु, स्थानीय समाजसेवी तथा भक्तजनहरूले धार्मिक सम्पदाको संरक्षण सामूहिक जिम्मेवारी भएको उल्लेख गर्दै यस्ता अभियानले सांस्कृतिक पहिचान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गर्नुभयो ।
महायज्ञका प्रमुख कथा वाचक तपस्वी गुरु पण्डित श्री उत्तम भट्ट महाराजले साताव्यापी रूपमा श्रीमद्भागवत महापुराणको कथा वाचन गर्दै धर्म, नैतिकता, मानव सेवा, सामाजिक सद्भाव र आध्यात्मिक जीवनका विविध पक्षबारे प्रवचन दिएका थिए । कथा श्रवणका लागि दैनिक रूपमा ठूलो संख्यामा श्रद्धालु सहभागी भएका थिए ।
असार १६ गतेदेखि संचालन भएको महायज्ञको शुभारम्भ मातातीर्थ कुण्डबाट निकालिएको भव्य कलश यात्रासहित गरिएको थियो ।



