काठमाडौं । चन्द्रागिरि नगरपालिकाको ‘एक वडा, एक गौरवको योजना’ अन्तर्गत वडा नं. ६ मा निर्माणाधीन मातातीर्थ कुण्ड परिसरको ऐतिहासिक फल्चा अन्तिम चरणमा पुगेको छ ।
चन्द्रागिरि नगरपालिकाले करिब ३ करोड रुपैयाँको लगानीमा निर्माण गरिरहेको उक्त फल्चा गुरुयोजनाअनुसार परम्परागत नेवारी वास्तुकलाको शैलीमा निर्माण भइरहेको छ । स्थानीयवासीले यो संरचना केवल विश्रामस्थल मात्र नभई धार्मिक अनुष्ठान, सामाजिक भेला, सांस्कृतिक गतिविधि तथा पुस्तान्तरण हुँदै आएको स्थानीय सभ्यताको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित हुने बताएका छन् ।



निर्माण कार्य निर्धारित समयभित्र सम्पन्न गर्ने उद्देश्यले वडा नं. ६ का जनप्रतिनिधिसहित नगरप्रमुख घनश्याम गिरीले निर्माणस्थलको पटक–पटक अनुगमन गर्दै आवश्यक निर्देशन दिँदै आएका छन् ।
वडा नम्बर ६ का जनप्रतिनिधिले फल्चा निर्माणमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने स्थानीयवासी, प्राविधिक तथा सम्पूर्ण सरोकारवालाप्रति कृतज्ञता व्यक्त गरेका छन् ।
मातातीर्थ विकास तथा संरक्षण संस्थाका अध्यक्ष शान्ता उदासले यो आयोजना वडा नं. ६ को गौरवको योजना भए पनि यसको महत्व सम्पूर्ण चन्द्रागिरि नगरपालिकाको पहिचानसँग जोडिएको बताएकाछन् । उहाँले मातातीर्थ धार्मिक आस्था बोकेको मात्र होइन, काठमाडौं उपत्यकाको सांस्कृतिक इतिहाससँग गाँसिएको महत्वपूर्ण स्थल भएकाले यहाँ निर्माण भइरहेको ऐतिहासिक फल्चाले सम्पदाको संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा पनि टेवा पुग्ने उल्लेख गर्नुभयो ।
हरेक वर्ष आमाको सम्झनामा लाग्ने मातातीर्थ औँसीका अवसरमा हजारौं श्रद्धालुको आगमन हुने यस क्षेत्रलाई व्यवस्थित, आकर्षक र दीर्घकालीन रूपमा संरक्षण गर्ने उद्देश्यले नगरपालिकाले गुरुयोजना नै तयार पारेर पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ ।



