काठमाडौं । प्रहरी वृत्त थानकोटले मातातीर्थ औंशी पर्वलाई लक्षित गर्दै सुरक्षा व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखिएको छ । पर्व नजिकिँदै जाँदा प्रहरी प्रशासनले जनताको सुरक्षा, मेला व्यवस्थित, सुरक्षित र सहजतालाई मध्यनजर गर्दै प्रहरी वृत्त थानकोट प्रमुख प्रहरी नायब उपरीक्षक एलिजा गिरीले मातातीर्थ क्षेत्रको स्थलगत अनुगमन गर्नुभएको छ ।
अनुगमनका क्रममा मातातीर्थ संरक्षण तथा विकास संस्थाका पदाधिकारीहरूले धार्मिक, सांस्कृतिक तथा भौगोलिक संरचनाबारे विस्तृत जानकारी गराउँदै संभावित भीड व्यवस्थापन, आवतजावतका मार्गलगायतका क्षेत्रहरूको अवलोकन गराएका थिए । यसै क्रममा प्रहरी प्रभाग बलम्बु प्रमुख प्रहरी निरीक्षक लक्ष्मी खड्का समेत उपस्थिति रहेको थियो ।



अनुगमनपछि सुरक्षा संयन्त्रले मेलामा हुने भीडलाई मध्यनजर गर्दै विशेष रणनीति तयार पारिने डीएसपी गिरीले जानकारी दिनुभयो । भीड नियन्त्रण, यातायात व्यवस्थापन, आपतकालीन उद्धार तथा स्वास्थ्य सेवा लगायतका पक्षमा समन्वयात्मक योजना बनाइएको र प्रहरी प्रशासनले मातातीर्थ क्षेत्रमा आवश्यक संख्यामा सुरक्षाकर्मी परिचालन गर्ने, आपतकालीन अवस्थालाई तत्काल सम्बोधन गर्ने व्यवस्था समेत मिलाइएको जानकारी दिनुभयो ।
हरेक वर्षजस्तै यस वर्ष पनि मातातीर्थ औंशीको अवसरमा अघिल्लो दिनदेखि नै देशका विभिन्न स्थानबाट हजारौं भक्तजनहरू मातातीर्थ पुग्ने गर्दछन् । भक्तजनहरूले अघिल्लो रात जाग्राम बसेर बिहानै पवित्र कुण्डमा स्नान गर्ने, दिवंगत आमाको सम्झनामा तर्पण तथा श्रद्धाञ्जली अर्पण गर्ने परम्परा रहिआएको छ । यस्तो अवस्थामा ठूलो भीड व्यवस्थापन चुनौतीपूर्ण हुने भएकाले सुरक्षा निकायले पूर्वतयारीलाई थप सुदृढ बनाएको हो ।
यसैबीच मातातीर्थ संरक्षण तथा विकास संस्थाको आयोजनामा मेला व्यवस्थापनसम्बन्धी अन्तिम तयारी बैठकसमेत सम्पन्न भएको छ । बैठकमा सुरक्षा निकाय, स्थानीय प्रतिनिधि, सल्लाहकार तथा पदाधिकारीहरूको सहभागितामा विभिन्न पक्षहरूसँग छलफल गरिएको थियो । कार्यक्रममा सहभागीहरूले सुरक्षा, सरसफाइ, स्वास्थ्य सेवा, यातायात र भक्तजनहरूको सहज आवागमन सुनिश्चित गर्ने विषयलाई प्राथमिकतामा राखेका थिए ।
प्रहरी प्रशासनले भक्तजनहरूलाई निर्धक्क भएर मेला तथा धार्मिक कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ ।



