व्यक्तिको जन्म, कर्मको आधारमा भावनात्मक सम्बन्ध जुन राष्ट्रमा स्थापित हुन्छ, उसले त्यहि आधारमा आफ्नो राष्ट्रलाई मातृभूमि वा पितृभूमि भन्ने गरेको पाइन्छ
आमाको नाममा तीर्थ भएको एक मात्र देश नेपाल हो । नेपालीको जनजिव्रोमा नेपाललाई मातृभूमि अर्थात आमा भनेर सम्बोधन गरिने चलन छ । प्राचीन कालखण्डमा नेपाल आमाद्वारा सञ्चालित देश भएकोले वर्तमानमा पनि यस देशलाई मातृभूमि भनेर मान्दै आएको पाइन्छ । “जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी” श्लोक नेपाल र भारतमा प्रचलित छ । तर भारतको राष्ट्रगानमा मातृभूमिको उल्लेख भने पाइदैन । नेपालको राष्ट्रगानमा भने “अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल” भनिएको छ । यस कुराले ठूलो अर्थ राख्दछ । नेपालको विभिन्न भूगोलमा मानिने देवीहरुको महिमाले यस तथ्यलाई पुष्टि गर्दछ ।
भाषा, संस्कृति र इतिहासको अध्ययनले कुन देश मातृभूमि वा पितृभूमि भन्ने कुराको अवगत हुन आउँदछ । राष्ट्रलाई आमाको रुपमा सम्मान गर्ने भएकोले मातृभूमि भन्ने गरिएको पाइन्छ । विश्वका कयौं देशहरुले आफ्नो भूमिलाई मातृभूमि भन्दै आएको पाइन्छ । रुसमा रोदिना–मात (मदर रसिया), फ्रान्समा ला मेरे पात्रिए, फिलिपिन्समा इनाङ बायान (आमाराष्ट्र), रोमानियामा पात्रिया मामा (प्राचीन भूमि), भियतनाम मे तो क्वोक, फिनल्याण्डमा मदरल्याण्ड भन्ने प्रचलन छ । आफ्नो भूमिलाई मातृभूमिको रुपमा लिएता पनि राष्ट्रगानमा भने यि सबै देशहरुमा पितृभूमि भनिएको पाइन्छ । व्यक्तिको जन्म, कर्मको आधारमा भावनात्मक सम्बन्ध जुन राष्ट्रमा स्थापित हुन्छ, उसले त्यहि आधारमा आफ्नो राष्ट्रलाई मातृभूमि वा पितृभूमि भन्ने गरेको पाइन्छ ।



महाभारत वन पर्वमा यक्षको पृथ्वीभन्दा महान् के छ ? भन्ने प्रश्नको उत्तर दिदै युधिष्ठिरले भन्दछन् “माता गुरुतरा भूमेः” अर्थात आमा पुथ्वीभन्दा महान् छिन् । यि ऐतिहासिक प्रसंगको आधारमा भन्न सक्न्छि, आमा केबल जन्म दिने व्यक्ति मात्र नभई प्रथम गुरु तथा साक्षात् देवी हुन् ।
अमेरिकाका सन् १९०८ बाट एना जार्भिसको पहलकदमीमा मे महिनाको दोस्रो आइतवार मदर्स डे मनाउने प्रचलन शुरु गरिएको पाइन्छ । बेलायतमा इस्टरभन्दा तीन हप्ता अगाडिको आइतवार मदरिंग सन्डे मनाइन्छ । इथियोपियामा वर्षा ऋतुको अन्यतिर शरद ऋतुमा आमाको सम्मानमा तीन दिनसम्म एन्ट्रोस्ट नामक उत्सव मनाउने गरिन्छ । थाइल्याण्डमा अगस्ट १२ का दिन आमाको मुख हेर्ने पर्व मनाइन्छ । फ्रान्समा मे महिनाको अन्तिम आइतवार आमाको पर्व मनाउने गरिन्छ । साउदी अरब लगायतका देशहरुमा मार्च २१ वसन्त सम्पातको दिन आमाको सम्मानमा कार्यक्रम गरिन्छ । यसर्थ भन्न सक्न्छि कि संसारका सबै देशहरुले आमा प्रतिको श्रद्धा र कृतज्ञता प्रकट गर्ने गरिन्छ । तर नेपालको जस्तो एकै ठाँउमा जम्मा भएर वा घर घरबाटै सबै थरघरमा एउटै तिथिका दिन अर्थात वैशाख कृष्ण औंशीका दिन आमाको पर्व मनाउने गरिएको अन्यन्त्र देशमा पाइदैन । अन्य देशहरुमा धेरै पछिमात्र आमा पर्वको थालनी गरिएको देखिन्छ । यो थप अध्ययनको विषयमै छ ।
नेपाल परम्परादेखि नै मातृभूमि भएकोले आमाको महिमा विशेष रहेको पाइन्छ । काठमाडौं उपत्यकाको दक्षिण पश्चिम भेगमा रमणीय प्राकृतिक भू–भागले सजिएको महाभारत पर्वत श्रृंखला, वन औषधिले भरिपूर्ण चन्द्रागिरि पहाड र शक्रसोपान पर्वतले घेरिएर रहेको चन्द्रागिरि नगरपालिकामा आमाको तीर्थ मातातीर्थ रहेको छ । वन महालक्ष्मी र बतासेदूलो नामले प्रख्यात तीर्थ तथा वनको फेदीमा आमाको तीर्थ मातातीर्थ ऐतिहासिक ग्राम र द्रङ्गहरुले पुलकित भूमि हो । यस भूमिमा परापूर्वकालदेखि नै आमाको सम्मानमा देश र विदेशबाट जम्माभई वर्षको एक पल्ट विशेष उत्सव मनाउने गरिन्छ ।
वैशाख कृष्ण औंशीका दिन मेला भर्न तथा आमाकुण्डमा पूजा गर्न, मातातीर्थमा अवस्थित ढुङ्गेधारामा स्नान गर्न अघिल्लो दिनमा नै यस स्थानमा आएर जाग्राम बसी बत्ती बाल्ने, मन्त्रोउच्चारण तथा पाठ गर्ने प्रचलन रहेको छ । मेला भर्न आउन नसक्नेले आ–आफ्नो घरबाट नै आमालाई सम्मान गर्ने गरिन्छ । यस पर्वको अवसरमा आमा जिउँदै हुनेहरुले आमाको काँखमा मिठाई, फलफुल तथा कपडा लगायत विषयबस्तुले भरिपूर्ण गरिदिइ आशिर्वाद लिने र आमा नहुनेहरुले आमाको नाममा दान दक्षिणा दिने, जेष्ठ नागरिक भोजन गराउने, आमाको नाममा श्राद्ध गर्ने प्रचलन रहेको पाइन्छ । सबै थरघरका मानिसले मातृसम्मान पर्व मनाउने भएकोले यो नेपालको मौलिक पर्व हो । औशीको दिन परेको यस पर्वलाई मातातीर्थ औंशी भनिएको हो । मातातीर्थ स्नान पर्वको यो साँस्कृतिक पक्ष हो ।
सनातनीहरुले आमालाई तीर्थको रुपमा लिने गर्दछन् । यसैकारण आमालाई अऋणी पात्रको रुपमा चित्रण गरिएको पाइन्छ । प्रथम गुरु आमाको सम्मानमा कुम्भ नुहाउने प्रचलन चलिआएको पाइन्छ ।
नेपालको इतिहासमा गोपालवंशलाई महत्वपूर्ण रुपमा लिइन्छ । गोपालवंशको राजधानीका साथै किराँतवंशको पनि पहिलो राजधानी मातातीर्थ मानिन्छ । मातातीर्थ स्नान मेला पर्व ग्वालाहरुबाट शुरु गरिएको मान्यता भएकोले यस पर्वलाई प्राचीन र दुर्लभ पर्वको रुपमा चित्रित गर्दा फरक मानिदैन । अभिलेखजन्य विभिन्न श्रोतहरुमा मातातीर्थ र यस वरपरका विषयवस्तु बारे उल्लेख्य मात्रामा उल्लेख भएको पाइन्छ । इतिहासको विविध कालखण्डमा सनातनी शास्त्रहरुमा आमालाई सबैभन्दा उच्च स्थानमा राखिएको पाइन्छ । आमालाई माता, जननी आदि शब्दले सम्बोधन गर्दै “मातृदेवो भव” भनिएको छ । तैत्तिरीय उपनिषद्, रामायण, महाभारत, विभिन्न पुराण, चाणक्य नीतिमा आमाको महिमा गरिएको छ । मनुस्मृति (२-१४५)मा उपाध्याय भन्दा आचार्य दश गुणा ठूला हुन्छन्, आचार्य भन्दा पिता सय गुणा र पिता भन्दा माता हजार गुणा बढी सम्मानित हुन्छन् भनिएको छ । हिमवत्खण्ड नामक ग्रन्थमा माताको महत्वपूर्ण वर्णन र मातातीर्थ महात्म्य नै छ । आमा पूजा गर्ने आमाकुण्ड भित्र रहेको लिच्छविकालिन शिलामा पनि आमा शब्दको उल्लेखले यसको ऐतिहासिकता झल्काउँदछ । महाभारत वन पर्वमा यक्षको पृथ्वीभन्दा महान् के छ ? भन्ने प्रश्नको उत्तर दिदै युधिष्ठिरले भन्दछन् “माता गुरुतरा भूमेः” अर्थात आमा पुथ्वीभन्दा महान् छिन् । यि ऐतिहासिक प्रसंगको आधारमा भन्न सक्न्छि, आमा केबल जन्म दिने व्यक्ति मात्र नभई प्रथम गुरु तथा साक्षात् देवी हुन् ।
दुर्गा सप्तशतीमा “या देवी सर्वभूतेषु मातृरुपेण संस्थिता”, स्कन्द पुराणमा “नास्ति मातृसमा छायाँ नास्ति मातृसमा गतिः” अर्थात् आमा जस्तो शीतल छायाँ र आमा जस्तो आश्रय दिने अरु केही छैन । यस अर्थमा यस मेलाको महत्वलाई लिनु पर्दछ । नेपालको संस्कृतिमा आमालाई सृष्टिको रक्षा गर्ने शक्तिको रुपमा लिंदै अष्टमातृका पूजा गर्ने प्रचलन छ । ऋग्वेदमा आमालाई अदिति अर्थात अखण्डित वा सीमाहीन प्रकृतिको रुपमा लिइएको छ । “माता रुद्राणां दुहिता वसूनां स्वसादित्यानां अमृतस्य नाभिः” अर्थात आमा रुद्रहरुको माता, वसुहरुको छोरी, आदित्यहरुको दिदी र अमृतको केन्द्र हुन् (ऋग्वेद ८.१०१.१५) । शुक्रनीतिमा “कुपुत्रो जायेत क्वचिदपि कुमाता न भवतिः” अर्थात सन्तान खराब हुन सक्छ तर आमा कहिल्यै खराब हुदिनन् भनिएको छ । त्यस्तै मनुस्मृतिमा आमाबाबु र गुरुको नित्य सेवा र अविवादन गर्छ, उसको आयु, विद्या, यश र बल स्वतः बढ्दछ । यसलाई अभिवादनशीलस्यः भनिएको छ । यि आमाको महानता दर्शाउने शास्त्रिय मत हुन् ।
नेपालमा मनाइने मातातीर्थ मेलाले धेरै कुरा समेटेको पाइन्छ । प्राचीन कालखण्ड देखि नै थालनी भएको प्रमाणको आधारमा आमा सम्मान गर्ने जेठो परम्परा नेपालको हो भन्दा फरक पदैन भन्ने लाग्दछ । धार्मिक साँस्कृतिक, ऐतिहासिक, अभिलेखजन्य र शास्त्र तथा तन्त्रको आयमबाट समेत मातृस्नान क्षेत्र महत्वपूर्ण धरोहर भएकोले यो नेपालको बहुमूल्य नीधि हो ।
सनातनीहरुले आमालाई तीर्थको रुपमा लिने गर्दछन् । यसैकारण आमालाई अऋणी पात्रको रुपमा चित्रण गरिएको पाइन्छ । प्रथम गुरु आमाको सम्मानमा कुम्भ नुहाउने प्रचलन चलिआएको पाइन्छ । सुर्य, गुरु र चन्द्रमाको योग परेको बेला स्नान गर्नुलाई कुम्भ नुहाउने भनिन्छ । मानसिक शरीर स्नान र शारीरिक शरीर स्नान पश्चात मणिपुर चक्र तथा नाडीको ध्यान गरि सूक्ष्म इन्द्रियहरुको ज्ञानमा जोडिने विद्यामा आधारित मातातीर्थ स्नान नेपालको महत्वपूर्ण सम्पदा हो । पूर्वीय दर्शन र मूल्यमान्यतामा कुम्भ नुहाउने प्रचलनको रहस्य यसै सित सम्बन्धित छ । ‘रँ’ बीज मन्त्रको सहयोगमा इडा, पिँगला र सुषुम्नामार्फत तन र मनको योगद्वारा ज्ञान विज्ञानमा उक्लने र मोक्ष्य प्राप्त गर्ने मार्ग मातातीर्थ स्नान मेला हो । यो रहस्य नै तन्त्रमय पक्ष हो । तसर्थ मातातीर्थ सिद्ध तन्त्र भूमि हो ।
नेपालमा मनाइने मातातीर्थ मेलाले धेरै कुरा समेटेको पाइन्छ । प्राचीन कालखण्ड देखि नै थालनी भएको प्रमाणको आधारमा आमा सम्मान गर्ने जेठो परम्परा नेपालको हो भन्दा फरक पदैन भन्ने लाग्दछ । धार्मिक साँस्कृतिक, ऐतिहासिक, अभिलेखजन्य र शास्त्र तथा तन्त्रको आयमबाट समेत मातृस्नान क्षेत्र महत्वपूर्ण धरोहर भएकोले यो नेपालको बहुमूल्य नीधि हो । परापूर्वक समयदेखि मान्दै र धान्दै आएको रहस्यास्मक मातृस्नान मेला नेपालको मौलिक मेला तथा पर्व भएकोले यसको रक्षा र विकास गर्नु हाम्रो दायित्व हो । आमा जन्मदाता देवी हुन् । मानवको आराध्यदेवी आमा हुन् । सबै आमाहरुलाई नमन् ।



