नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीचको मतभेद पुनः सतहमा आएको छ । पार्टीमा सैद्धान्तिक र वैचारिक मतभेद कायमै रहेका यी दुई नेताबीचको पछिल्लो विवाद नेकपा एमाले विभाजनको औचित्य र पार्टी पुनर्गठनका विषयसम्ममा जोडिन पुगेको छ । पछिल्लोपटक यी दुई नेताले एक–अर्कालाई पार्टी छोड्न चेतावनी दिन थालेका छन् ।
नेपाल र खनालबीचको राजनीतिक सम्बन्ध र विवाद



नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले शुक्रबार विराटनगरमा पत्रकारहरुसँगको कुराकानीमा झलनाथ खनालले पार्टीमा बस्ने नैतिक अधिकार गुमाइसकेको टिप्पणी गर्नुभयो ।
सम्मानित नेता झलनाथ खनालले एमाले विभाजन गरेर नेकपा एकीकृत समाजवादी पार्टी गठन गर्नुको औचित्य पुष्टि नभएको अभिव्यक्ति एक टेलिभिजनमा दिएका आधारमा पत्रकारहरुले गरेको प्रश्नमा अध्यक्ष नेपालले यस्तो टिप्पणी गर्नुभएको थियो । अध्यक्षको यो भनाइ आएपछि झलनाथ खनालले पनि जवाफ फर्काउनुभयो ।
यी दुई नेताबीचको विवाद यस्तो बेला बाहिरिएको छ, जुन समयमा माओवादी केन्द्रले आफ्नो स्थायी कमिटी बैठकको एजेण्डामा पार्टी एकताको विषय पनि राखेको छ । र यो एकता चाँहि नेकपा एकीकृत समाजवादी पार्टीसँग लक्षित छ । एकीकृत समाजवादीका अध्यक्ष नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी एकताबारे विभिन्न चरणमा छलफल भइरहेको छ । तर माओवादीसँगको एकता प्रक्रियामा खनाल सकारात्मक हुनुहुन्न । उहाँ एमालेप्रति नरम हुनुहुन्छ । अर्कोतर्फ, हालै पतञ्जली जग्गा प्रकरणमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको मुद्दामा नेपाल धरौटी बुझाएर छुट्नु भएको छ । यी संयोगका बीच पनि अहिले एमाले विभाजन गरेर एकीकृत समाजवादी पार्टी बनाउनुको औचित्यमाथि खनालले जस्तै शंका गर्ने अरु पनि छन् ।
एकीकृत समाजवादी पार्टीमा विवाद
अध्यक्ष नेपाल र सम्मानित नेता खनालबीच एकीकृत समाजवादी पार्टीमा वैचारिक र सैद्धान्तिक विमति छ । नेपाल जनताको बहुदलीय जनवादलाई पार्टीको निर्देशक सिद्धान्त बनाउन चाहनुहुन्छ र खनाल जबजको औचित्य समाप्त भइसकेको ठान्नुहुन्छ । तर, नेपाल जबज मान्ने एमालेसँग सहकार्य हुनै नसक्ने बताउनुहुन्छ भने खनाल एमालेसँगमात्र एकता हुनसक्ने अडानमा हुनुहुन्छ । भलै यी दुई नेता जबजलाई राजनीतिक स्वार्थअनुकुल प्रयोग र प्रहार गर्दै आएका छन् । यो पार्टीले गत वर्ष गरेको महाधिवेशन अघि पनि जबजबारे लामै समय विवाद चलेको थियो ।
२०७८ भदौ २ गते झलनाथ खनाल बिरामी भएर भारतमा उपचार गराइरहेका बेला नेपालसहितका नेताले नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका थिए । उक्त पार्टीको भदौ सात गते चन्द्रागिरी रिसोर्टमा बसेको बैकठलाई दिल्लीबाट भर्चुअल सम्बोधन गर्दै खनालले मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको युग सकिएको बताउनुभएको थियो ।
त्यो समयमा खनालको विचारलाई समर्थन गरेका नेपालले पछि पार्टी कमजोर बन्दै जाँदा फेरि जबज नै बोक्न थाल्नुभयो । खनालले २०७९ असोजमा आफ्नो पुस्तक ‘विद्रोह, पुनर्गठन र वैज्ञानिक समाजवाद’ विमोचन समारोहमा पनि जबजको औचित्य सकिएको सार्वजनिक अभिव्यक्ति दिनुभएको थियो । त्यसको दुई वर्षपछि भएको एकीकृत समाजवादीको महाधिवेशनमा शीर्ष नेतृत्वबीच मनमुटाव ल्याउने कारक पनि जबज नै बन्यो । जबजको औचित्य समाप्त भएको देख्ने घनश्याम भुसाललाई नेता खनालले अध्यक्षका रुपमा अघि सार्नुभयो, यद्यपि नेतृत्व चाँहि सर्वसम्मतिमै छानियो, माधव नेपाल नै स्थापित हुनुभयो । यी दुई नेताबीच जबज, पार्टी एकता, सुशासन र संगठन निर्माण जस्ता विषयले खटपट भईरहेको छ ।
पञ्चायतकालमा मालेदेखि नै विवाद
नेपालले २०३७ सालतिरै सीपी मैनालीलाई नेतृत्वबाट हटाउन खनाललाई अगाडि सारिएको थियो । खनाल नै तत्कालीन मालेको महासचिव बन्नुभयो । झलनाथ पछि मदन पार्टीको नेतृत्वमा आउनुभयो। त्यसपछि पार्टीभित्रको सैद्धान्तिक र सांगठानिक मतभेदमा माधव मदनको नजिक पुग्दा झलनाथसँग मतभेद भयो । पाँचौं महाधिवेशनमा मदनले जबजको प्रस्ताव अघि सार्दा झलनाथ विरोधमा माधव पक्षमा उभिनुभयो । २०५० सालमा मदनको मृत्युपछि नेपालले १४ वर्षसम्म एमालेको नेतृत्व गर्ने अवसर पाउनुभयो । त्यसपछि पार्टीभित्र हुने कैयौं निर्णयमा नेपाल र केपी शर्मा ओली नजिक बन्ने अवस्थामा खनाल भने अलग कित्तामा उभिन पुग्नुहुन्थ्यो ।
२०६४ को निर्वाचनमा अप्रत्यासित पराजय भोगेपछि माधवले पार्टी महासचिवबाट राजीनामा दिनुभयो। त्यसपछि झलनाथ अध्यक्ष बन्नुभयो । यहाँपछि दुईनेताको मतभेद तीव्र बन्यो । माओवादीसँग मिल्ने कि नमिल्नेमा विवाद रह्यो । माधव कांग्रेससँग सत्ता सहकार्यमा जुट्दा झलनाथ माओवादीसँग सहर्कायको पक्षमा उभिनुभयो र माओवादी कै बलमा उहाँ प्रधानमन्त्री पनि बन्नुभयो । २०७० मा भएको संविधानसभाको दोस्रो निर्वाचनपछि माघमा भएको एमाले संसदीय दलको नेताको निर्वाचनमा नेपालले तत्कालीन पार्टी अध्यक्ष झलनाथ खनाललाई समर्थन गर्नुभएको थियो, तर खनाल केपी ओलीसँग पराजित हुनुभयो । त्यसलगत्तै २०७१ असारमा भएको पार्टीको नवौँ महाधिवेशनमा खनालले माधव नेपाललाई अध्यक्ष पदमा सहयोग गर्नुभएन । अध्यक्षमा ओली निर्वाचित हुनुभयो । त्यसपछि लामो समयसम्म यी दुई नेताबीचको सम्बन्ध सुमधुर हुन सकेको थिएन । २०७४ को आम निर्वाचनपछि एमाले र माओवादीबीच एकता हुँदासम्म पनि उहाँहरुबीच राम्रो मित्रता रहेन । तर पछि ओलीले प्रचण्डसँग निकटता बढाएर आफूहरुलाई बाइपास गरेपछि भने दुई नेता नजिकिए । २०७७ सालमा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्डसहित यी तीन नेता एक ठाउँमा जोडिए । यसैको जगमा एकीकृत समाजवादीको स्थापना हुँदा एउटै पार्टीमा रहे पनि वैचारिक, सैद्धान्तिक र पार्टीको मार्ग निर्देशक सिद्धान्तका विषयले खटपट चलिरहेको छ । यो खटपटको शिलशिला यतिबेला एकले अर्कालाई पार्टी छोड्न चेतावनी दिने अवस्थामा आइपुगेको छ ।



