काठमाडौं – नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा निर्वाचित भएको छ। न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भएको निर्वाचनमा नेपालले १८० मतमध्ये १७३ मत प्राप्त गर्दै एसिया–प्रशान्त क्षेत्रीय समूहबाट निर्वाचित देशहरूमध्ये सबैभन्दा बढी मत हासिल गरेको हो। नेपाल सन् २०२७ देखि २०२९ सम्मको तीनवर्षे कार्यकालका लागि परिषद् सदस्यमा निर्वाचित भएको हो। यससँगै नेपाल तेस्रोपटक मानवअधिकार परिषद्को सदस्य बन्ने भएको छ। यसअघि नेपाल सन् २०१८–२०२० र २०२१–२०२३ मा परिषद्को सदस्य रहिसकेको छ।
राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले नेपाललाई विश्वास र समर्थन प्रदान गर्ने सबै सदस्य राष्ट्रप्रति आभार व्यक्त गरेको छ। साथै, सन् २०२७ देखि २०२९ सम्मकै कार्यकालका लागि निर्वाचित अन्य १४ देशलाई पनि बधाई दिएको छ। नेपालले राष्ट्रसंघका सदस्य राष्ट्र तथा अन्य साझेदारसँग सहकार्य गर्दै मानव मर्यादाको संरक्षण, समावेशिताको प्रवर्द्धन, सामाजिक न्याय तथा सबैका लागि समान र न्यायोचित विकासका क्षेत्रमा काम गर्ने प्रतिबद्धता जनाएको छ।



सन् २००६ मा स्थापना भएको संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद् मानवअधिकारको संरक्षण र प्रवर्द्धनका लागि काम गर्ने राष्ट्रसंघको प्रमुख अन्तरसरकारी निकाय हो। स्विट्जरल्यान्डको जेनेभामा मुख्यालय रहेको परिषद्मा भौगोलिक प्रतिनिधित्वका आधारमा ४७ सदस्य राष्ट्र रहने व्यवस्था छ। परिषद्ले सदस्य राष्ट्रहरूमा मानवअधिकारको अवस्थाको समीक्षा गर्ने, उल्लङ्घनसम्बन्धी विषयमा छलफल गर्ने, आवश्यक सिफारिस गर्ने तथा अन्तर्राष्ट्रिय सहकार्यलाई प्रोत्साहन गर्ने कार्य गर्दछ।



