काठमाडौं । नेपालमा मानसिक स्वास्थ्य समस्या बढ्दै जान थालेपछि सरकारले छुट्टै महाशाखा स्थापना गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागमा रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) अन्तर्गत रहेको नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखालाई टुक्र्याएर छुट्टै शाखा बनाइन लागिएको हो ।
अहिलेसम्म इडिसिडी अन्तर्गत नसर्ने रोग र मानसिक स्वास्थ्य शाखासमेत गरी ६ वटा शाखा रहेको छ । यो महाशाखामा अहिले नसर्ने रोग र मानसिक स्वास्थ्य शाखासहित ट्रपिकल डिजिज, भेक्टर वर्न डिजिज शाखा, जुनोटिक र अन्य सरुवा रोग नियन्त्रण शाखा, इपिडिमियोलोजी र प्रकोप व्यवस्थापन शाखा र कुष्ठरोग नियन्त्रण तथा अपांगता व्यवस्थापन शाखा रहेको छ ।



विश्व स्वास्थ्य संगठनले आधाभन्दा बढी मानसिक स्वास्थ्य समस्या १४ वर्षभित्र सुरु हुने र २४ वर्षको उमेरसम्म ७५ प्रतिशत देखिसकेको तथ्यांक सार्वजनिक गरेको छ । १५ देखि २९ वर्ष उमेर समूहका व्यक्तिको मृत्युको दोस्रो कारण आत्महत्या रहेको उल्लेख गरिएको छ ।



