बागलुङ बजारमा छाडा तथा सामुदायिक कुकुरको संख्या बढ्दै गएपछि बागलुङ नगरपालिकाले उनीहरूको व्यवस्थापनका लागि ‘डग होस्टेल’ सञ्चालनमा ल्याएको छ। सडक, चोक र गल्लीमा रहेका कुकुरका कारण दुर्घटनाको जोखिम बढ्नुका साथै रेबिजलगायतका रोगको जोखिमसमेत देखिएपछि नगरपालिकाले कुकुर नियन्त्रण, उपचार र संरक्षणलाई एकै ठाउँबाट अघि बढाउन थालेको हो।

बागलुङ नगरपालिका–३ मा निर्माण गरिएको डग होस्टेलमा अहिले करिब ३० वटा कुकुर छन्। बजार क्षेत्रमा छाडिएका कुकुरलाई नियन्त्रणमा लिएर होस्टेलमा ल्याउने गरिएको छ। रोगी, अशक्त तथा अपाङ्ग कुकुरको उद्धार गरी आवश्यक उपचारसमेत यहीँ गरिन्छ। नवप्रवर्तन कार्यक्रमअन्तर्गत बागलुङ नगरपालिका र गण्डकी प्रदेश सरकारको साझेदारीमा करिब एक करोड रुपैयाँ लागतमा डग होस्टेलसहितका संरचना निर्माण गरिएको हो। त्यसका लागि नगरपालिकाले ३५ लाख र गण्डकी प्रदेश सरकारले ६५ लाख रुपैयाँ लगानी गरेका छन्।

तर, यो पहल केवल छाडा कुकुर नियन्त्रणमा सीमित छैन। मानिस र कुकुरबीचको सम्बन्धलाई हेर्ने हो भने कुकुरलाई मानिसको सबैभन्दा पुरानो र नजिकको साथीका रूपमा लिइन्छ। मानिसले घरपालुवा जनावरका रूपमा कुकुर पाल्नुको एउटा प्रमुख कारण यसको स्वभावमा देखिने आत्मीयता र वफादारी हो। कुकुरले आफ्नो मालिकलाई लामो समयसम्म सम्झिरहने, मालिकप्रति स्नेह देखाउने र खतरा पर्दा आफ्नो ज्यानको समेत पर्वाह नगरी रक्षा गर्न खोज्ने व्यवहार देखाउँछ। मानिसको व्यवहार समय, परिस्थिति र स्वार्थअनुसार परिवर्तन हुन सक्ने भए पनि कुकुरले आफ्नो मालिकप्रतिको लगावलाई निरन्तरता दिने भएकाले पनि ‘कुकुर मानिसभन्दा बढी वफादार हुन्छ’ भन्ने धारणा समाजमा बलियो बनेको हो।

वैज्ञानिक रूपमा हेर्दा कुकुरको सामाजिक स्वभाव र मानिससँग लामो समयदेखि भएको सहअस्तित्वले यस्तो सम्बन्ध विकास हुन सहयोग गरेको मानिन्छ। मानिससँग बस्दा कुकुरले आवाज, हाउभाउ र व्यवहारबाट मानिसको भावना बुझ्ने क्षमता पनि विकास गरेको छ। त्यसैले कुकुरलाई केवल सुरक्षा दिने जनावरका रूपमा मात्र नभई परिवारकै सदस्यका रूपमा हेर्ने मानिसको संख्या बढ्दो छ।

यही सम्बन्धलाई ध्यानमा राख्दै बागलुङ नगरपालिकाले छाडा कुकुर व्यवस्थापन गर्दा नियन्त्रणसँगै उपचार र संरक्षणलाई पनि प्राथमिकता दिएको जनाएको छ। नगरपालिकाका पशु शाखा प्रमुख मित्रलाल सापकोटाका अनुसार सडकमा रहेका कुकुरलाई नियन्त्रणमा लिएर खोप लगाउने, आवश्यक उपचार गर्ने र होस्टेलमा राख्ने काम भइरहेको छ।

नगरपालिकाले घरमा पालिएका कुकुरलाई समेत रेबिजविरुद्धको खोप उपलब्ध गराउँदै आएको छ। आवश्यक औषधि पनि निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिएको छ। घरमा पालिएका कुकुर अनिवार्य रूपमा दर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ भने दर्ताका लागि दुई सय रुपैयाँ शुल्क तोकिएको छ। दर्ता भएका कुकुरलाई नगरपालिकाले खोप र औषधि निःशुल्क उपलब्ध गराउने गरेको छ। कुकुरको मृत्यु भएमा शव व्यवस्थापनसमेत नगरपालिकाले गर्दै आएको छ।

छाडा कुकुर नियन्त्रणका लागि नगर प्रहरी र पशु विकास शाखाले संयुक्त रूपमा काम गरिरहेका छन्। सडकमा रहेका कुकुरलाई समातेर खोप लगाउने र आवश्यकताअनुसार होस्टेलमा ल्याउने गरिएको छ। कुकुरको रेखदेखका लागि नगरपालिकाले एक जना कर्मचारीसमेत खटाएको छ। हाल होस्टेलमा रहेका कुकुरलाई बिहान मासु–भात र साँझ दूध–भात खुवाउने गरिएको छ। यद्यपि, खर्च व्यवस्थापनलाई सहज बनाउन अब शाकाहारी भोजनको व्यवस्था गर्ने योजना नगरपालिकाको छ।

बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काका अनुसार विगतमा बजार क्षेत्रमा छाडा कुकुरका कारण दुर्घटनाका घटना हुने गरेका थिए। डग होस्टेल सञ्चालनपछि त्यस्ता जोखिम कम हुने अपेक्षा गरिएको छ। कुकुर मानिसप्रति देखाउने वफादारीका कारण प्रिय जनावर बने पनि सडकमा छाडिँदा भने त्यही कुकुर नागरिकका लागि जोखिमको कारण बन्न सक्छ। त्यसैले कुकुरलाई नियन्त्रणमा लिनु मात्र समाधान नभई उनीहरूको उचित संरक्षण, खोप, उपचार र जिम्मेवार व्यवस्थापन पनि उत्तिकै आवश्यक हुन्छ।

बागलुङ नगरपालिकाले सुरु गरेको डग होस्टेल यही आवश्यकता पूरा गर्ने प्रयास हो। सडकमा छाडा कुकुरको समस्या घटाउनेसँगै उनीहरूको जीवनप्रति संवेदनशील भएर व्यवस्थापन गर्न सके यो अभियान मानव र पशु दुवैका लागि उपयोगी बन्न सक्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय