मानिसहरुमा माया, ममता, स्नेह जस्ता कुरा हराइसकेको हो ? खानका लागि अब मानिसले मानवता समेत भुल्दै गएका हुन् ? यो विषय अहिले सोचनिय बन्दै गएको छ । मासुको लागि मान्छेहरु कतिसम्म मरिहत्ते गर्छन् र कुन हदसम्म अपराध गर्न सक्छन् भन्ने कुरा इलाममा भएको एक घटनाले छर्लङ्ग पारेको छ । सुन्दा अनौठौ अनि पत्याउनै नसक्ने घटना घटेको छ, पूर्वी इलामको सूर्योदय नगरपालिकामा ।

गत शुक्रबार अर्थात चैत्र ८ गते राती सूर्योदय नगरपालिका ६ कन्यामका किसान राम राईको गोठमा बाँधिएको गोरुको एकापटिको फिला काटेर मासु निकालेर चोरी भएको छ । जिउँदो गोरुको फिलाको मासु काटेर लगिएको घटनाले धेरैको मन झस्किएको छ । यो घटना राईको गोठमा पहिलोपटक भने होइन । यसभन्दा अघि पनि उहाँकै गोठमा रहेको गोरुको फिला काटेर मासु चोरी भएको थियो ।

फिला काटिएको उक्त गोरु मरेको छ । यहि गोरुको फिला काटेर मासु लगिएको यो दोस्रो पटक हो । औषधिउपचार गरेर मासु काटेको भाग पुरिन लागेको अवस्थामा पुनः त्यही खुट्टाबाट फिला काटेर मासु लगेको पिडित किसान राईको दुखेसो छ । करिब पाँच किलो हाराहारी मासु काटेर लगेको बताइएको छ । भिडियो हेर्दा एकदमै क्रुरतापूर्वक जिउँदै गोरूको फिला काटिएको दृष्यले सबैलाई दुखित तुल्याउँछ । घरबाट केही टाढा गोठ रहेको र बिहान घाँस हाल्न गोठमा जाँदा आफूले थाहा पाइसक्दा गोरु समेत मरिसकेको उहाँ भन्नुहुन्छ ।

अर्काको जग्गा भाडामा लिएर बसेका किसान राई बनिबुतो गरेर परिवार पाल्दै आएका छन् । गाउँमा यस किसिमको घटना घट्न थालेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका छन् । जिल्ला प्रहरी कार्यालय इलामले घटनाको तीब्ररुपमा अनुसन्धान भइरहेको डिएसपी मानबहादुर राई बताउनु हुन्छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय