मार्क वाटको सानदार प्रदर्शनप्रेरित कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित दर्ता गरेको छ । कर्णालीले कीर्तिपुुरस्थित त्रिवि क्रिकेट मैदानमा आज लुम्बिनी लायन्सविरुद्ध ९ विकेटको सहज जित दर्ता गर्यो । कर्णालीले पहिलो खेलमा चितवन राइनोजसँग चार विकेटको हार ब्यहोरेको थियो । लुम्बिनीको यो पहिलो हार हो । लुम्बिनीले पहिलो खेलमा चितवनलाई ६ विकेटले पराजित गरेको थियो । लुम्बिनीले प्रस्तुत गरेको १ सय ५७ रनको लक्ष्य कर्णालीले १२।२ ओभरमा मात्र एक विकेट गुमाउँदै पूरा गर्यो । कर्णालीका लागि वाटले ४४ बलमा १० छक्का र चौकाको मद्दतले अविजित ११४ रनको योगदान गरे । जारी एनपीएलमा यो पहिलो शतक हो । यसैगरी विलियम बोसिस्टोले अविजित २९ र प्रियान्क पन्चालले १२ रन बनाए ।



दोस्रो विकेटका लागि वाट र बोसिस्टोले अविजित १ सय २३ रनको योगदान गरे । लुम्बिनीका लागि एकमात्रै विकेट शेर मल्लले लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १ सय ५६ रनको योगफल तयार पारेको थियो । लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेलले ४३ बलमा चार चौका र दुई छक्कासहित सर्वाधिक ४९ रनको योगदान गरे । यसैगरी रुबेन ट्रम्पलम्यानले अविजित २९, जेजे स्मिथले २३ र डार्शी शर्टले १९ रन बनाए । कर्णालीका लागि नन्दन यादवले दुई तथा मार्क वाट, विपिनप्रसाद शर्मा, गुल्शनकुमार झा, युवराज खत्री र कप्तान सोमपाल कामीले एक एक विकेट लिए ।
प्रतियोगिता अन्तरगत आजै काठमान्डु गोर्खाज र विराटनगर किंगसबीच खेल हुने छ ।



