नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले व्यवसायी मीनबहादुर गुरुङ दम्पतीले अनुदानस्वरूप निर्माण गरिदिने प्रस्ताव गरेको केन्द्रीय कार्यालय भवन नलिने निर्णय गरेको छ । एमाले सचिवालय बैठकमा प्रस्तुत प्रस्तावअनुसार कलंकीमा भवन निर्माणको प्रस्ताव धन्यवादसहित फिर्ता गर्ने र अब मदननगर, बल्खुमै पार्टीको नयाँ केन्द्रीय कार्यालय निर्माण गरिने भएको हो ।

सचिवालय बैठकमा पेश गरिएको प्रस्तावमा दाता गुरुङ दम्पतीलाई धन्यवाद व्यक्त गर्दै पार्टीले आफ्नै व्यवस्थापनमा नयाँ भवन निर्माण प्रक्रिया अगाडि बढाउने उल्लेख गरिएको छ । एमालेले बल्खुस्थित मदननगरमै आधुनिक केन्द्रीय कार्यालय निर्माण गर्ने तयारी थालेको जनाएको छ ।

यसअघि गुरुङ दम्पतीले दानमा दिने भनिएको भवनको शिलान्यास २०८१ असोजमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र गुरुङ दम्पतीले संयुक्त रूपमा गरेका थिए । तर शिलान्यासपछि पनि भवन निर्माणको काम अगाडि बढ्न सकेको थिएन ।

मदन–आश्रित स्मृति दिवसको अवसरमा एमाले महासचिव शंकर पोखरेल ले अब बल्खुमै पार्टीको स्थायी केन्द्रीय कार्यालय बन्ने घोषणा गरिसकेका छन् । त्यसपछि सचिवालय बैठकले पनि सोही प्रस्तावलाई औपचारिक रूपमा अघि बढाएको हो ।

व्यवसायी गुरुङबाट जग्गा र भवन दान लिने विषय सार्वजनिक भएपछि एमालेभित्रै विवाद चर्किएको थियो । पार्टी र व्यवसायीबीचको सम्बन्धलाई लिएर विभिन्न प्रश्न उठेपछि नेतृ विन्दा पाण्डेउषाकिरण तिम्सेना ले सार्वजनिक रूपमा असहमति जनाएका थिए । पछि यही विषयलाई लिएर एमालेले उनीहरूमाथि अनुशासनको कारबाहीसमेत गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय