मुगु – लगातारको वर्षापछि मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा खसेको पहिरोले तीन वर्षीय बालकको मृत्यु भएको छ। शुक्रबार राति घरमाथिबाट ढुङ्गासहितको पहिरो खस्दा होटल व्यवसाय सञ्चालन गर्दै आएको बडुवाल परिवारको घर पुरिएको हो। छायाँनाथ रारा नगरपालिका–१३ तिर्प घर भई पुलु बजारमा पेमा लामाको घर भाडामा लिएर होटल सञ्चालन गर्दै आएका ३२ वर्षीय जगनाथ बडुवाल, उनकी २७ वर्षीया श्रीमती सृजना बडुवाल र तीन वर्षीय छोरा रमेश बडुवाल सुतिरहेको अवस्थामा पहिरो खसेको थियो। पहिरोमा च्यापिएर रमेश बडुवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।

घटनामा जगनाथ बडुवाल, सृजना बडुवालसहित चार जना सामान्य घाइते भएका छन्। पहिरोले बडुवाल परिवार बस्दै आएको घर पूर्ण रूपमा ध्वस्त बनाएको छ भने आसपासका थप तीन घरमा क्षति पुगेको छ। अन्य आठ घर उच्च जोखिममा रहेका छन्। प्रहरी र स्थानीयवासीको सहयोगमा उद्धार कार्य जारी रहेको छ। पहिरोले मुगम कार्मारोङ गाउँपालिकाले भाडामा लिएको कार्यालय भवनमा समेत क्षति पुर्‍याएको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शुभास चन्द्र रावलका अनुसार पहिरोले औषधि गोदाम, पुराना सरकारी अभिलेख, लेखापरीक्षण सम्पन्न भएर भण्डारण गरिएका श्रेस्ता तथा अन्य महत्वपूर्ण कागजात बगाएको छ। ती सामग्री पहिरोसँगै कर्णाली नदीमा मिसिएको उनले जानकारी दिए। उनका अनुसार गाउँपालिका भवनमाथिबाट पटक–पटक पहिरो खस्ने क्रम नरोकिएकाले कर्मचारीहरू त्रासबीच सेवा प्रवाह गर्न बाध्य भएका छन्।

“पालिका भवनमाथि निरन्तर पहिरो झरिरहेको छ। सेवा सञ्चालन गर्नै कठिन भएको छ। कुनै पनि बेला ठूलो क्षति हुन सक्ने जोखिम छ,” प्रमुख प्रशासकीय अधिकृत रावलले बताए। पुलु बजार वर्षौंदेखि पहिरोको उच्च जोखिममा रहेको क्षेत्र हो। यसअघि पनि यही क्षेत्रमा गएको पहिरोमा दुई जनाको मृत्यु भएको थियो। शुक्रबारको घटनासँगै पुलु बजारमा पहिरोका कारण ज्यान गुमाउनेको संख्या तीन पुगेको छ।

स्थानीयवासीका अनुसार पहिरोको जोखिमबारे पटक–पटक सम्बन्धित निकायलाई जानकारी गराए पनि दीर्घकालीन समाधानका लागि प्रभावकारी पहल हुन सकेको छैन। बस्तीमाथिको कमजोर भू–भागका कारण प्रत्येक वर्ष वर्षायाममा स्थानीय त्रासपूर्ण जीवन बिताउन बाध्य छन्।

स्थानीयले मुगम कार्मारोङ गाउँपालिकाको कार्यालयलाई सुरक्षित स्थानमा सार्नुपर्ने माग गरेका छन्। तत्काल दीर्घकालीन योजना बनाएर पहिरो नियन्त्रण र बस्ती सुरक्षामा ध्यान नदिए आगामी वर्षमा अझ ठूलो मानवीय तथा भौतिक क्षति हुन सक्ने उनीहरूको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय