काठमाडौं । मुस्ताङको कोरलानाका हुँदै कैलाश मानसरोवर जाने मार्ग खुलाउन पहल थालिएको छ । कोरला हुँदै मानसरोवर जोड्ने धार्मिक, पर्यटकीय मार्ग खुलाउने प्रस्ताव लिएर लोमान्थाङ र लोघेकर दामोदर कुण्ड गाउँपालिकाका जनप्रतिनिधिको टोली चीनको ढोङ्वासेन पुगेका छन् । लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले गृह मन्त्रालय, अध्यागमन विभागसँग समन्वय गरेर दुईवटा स्थानीय तहका जनप्रतिनिधि तिब्बती जनप्रतिनिधि र अधिकारीहरूसँग छलफलका लागि गत शुक्रबार चीन पुगेका हुन् ।

कोरलानाका हुँदै गएको टोलीमा लोमान्थाङ गाउँपालिकाका उपाध्यक्ष छ्युमी विष्ट र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका उपाध्यक्ष छिरिङल्होमो गुरुङसहितका १३ जनप्रतिनिधि सहभागी छन् । यो भ्रमण जनप्रतिनिधिको व्यक्तिगत खर्चमा भएको पनि अध्यक्ष गुरुङले बताउनुभयो । कोरलानाका हुँदै कैलाश मानसरोवर पुग्ने मार्ग खुलाउन सके ल्हासा तिब्वत घुम्न जाने र चीनका बौद्ध धर्मावलम्बीहरूलाई कोरलानाका भएर लुम्बिनीमा ल्याउन यो छोटो मार्ग हुनेछ । कोरलानाकादेखि कैलाश मानसरोवर तीन सय किलोमिटर र ल्हासा एक हजार किलोमिटर दूरीमा रहेको छ । अहिले भारतीय मार्ग हुँदै मानसरोवर जाँदा एउटै धार्मिक पर्यटकले प्रतिव्यक्ति दुई लाखभन्दा बढी खर्च गर्नुपर्ने बाध्यता छ ।

वि.सं. २०८० कात्तिक २७ गतेदेखि मुस्ताङवासीका लागि सामान किनमेल गर्न खुला भएको कोरलानाका गत वर्ष अध्यागमन कार्यालय स्थापना भएको थियो भने यस वर्षदेखि तातोपानी र रसुवाको नाका बन्द भएपछि चीन र नेपालको निकासी, पैठारी यही नाकाबाट हुँदै आएको छ ।

पोखरा र काठमाडौंबाट हवाईमार्ग र सडक सञ्जालबाट सहजै कोरालानाका हँुदै सवारीसाधनको प्रयोग गरी मानसरोवरसम्म जान सकिन्छ । चीनको तिब्बतमा पर्ने कैलाश मानसरोवर क्षेत्रमा बर्सेनी हजारौँ नेपाली पर्यटकले भ्रमण गर्ने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय