काठमाडौं । मुस्ताङमा गत वर्षको तुलनामा स्याउ उत्पादन बढेको छ । कृषि ज्ञान केन्द्र मुस्ताङले गत वर्ष ७ हजार २ सय ३८ मेट्रिकटन स्याउ उत्पादन भएकोमा यो वर्ष ७ हजार ६ सय ३६ मेट्रिकटन स्याउ उत्पादन भएको जनाएको छ ।
गत वर्ष ९१ करोड ८६ लाख ७२ हजार रुपैयाँ बराबरको स्याउ बिक्री भएकोमा यो वर्ष १ अर्ब १० करोड रुपैयाँ बराबरको स्याउ उत्पादन भएको छ । यो वर्ष स्याउ ८० प्रतिशत जिल्लाबाहिर निकासी भएको भने १० प्रतिशत स्याउ जिल्लामै खपत भएको छ । साथै १० प्रतिशत हार्भेस्ट गर्न बाँकी रहेको कृषि ज्ञान केन्द्र मुस्ताङका प्रमुख राजेश गुरुङले जानकारी दिनुभयो ।
यो वर्ष ६ हजार १ सय ८ मेट्रिकटन बढी स्याउ निकासी हुँदा ८६ करोड १८ लाख ४० हजार रुपैयाँ मुस्ताङ भित्रिएको छ । साथै ७६३ मेट्रिकटन अर्थात् ११ करोड २ लाख ३० हजार रुपैयाँ बराबर स्याउ जिल्लामै खपत भयो भने ७६३ मेट्रिकटन स्याउ हार्भेस्ट गर्न बाँकी छ ।
यहाँ कूल ८३२ हेक्टर क्षेत्रफलमा स्थानीय जातको स्याउ र ६० हेक्टर क्षेत्रफलमा उच्च घनत्वको हाइब्रिड स्याउ उत्पादनशील क्षेत्र छ । जसमा स्थानीय स्याउ ६ हजार ६९ मेट्रिकटन र हाइब्रिड स्याउ १ हजार ५ सय ६७ मेट्रिकटन उत्पादन भएको केन्द्रले जनाएको छ । मुस्ताङमा स्थानीय स्याउ प्रतिकेजी १३० रुपैयाँ र हाइब्रिड स्याउ प्रतिकेजी २०० रुपैयाँमा बिक्री भइरहेको छ ।



