काठमाडौं । मुस्ताङको लोमान्थाङमा स्वदेशी मात्र नभई विदेशको पनि आकर्षणको केन्द्र बनेको छ । लोमान्थाङमा विश्वकै अग्लो स्थान भएको पनि दावी गरिएको छ । अहिले विशाल मैदानको बीच भागमा पर्ने नयाँ मुस्ताङ गल्फ कोर्स बनेको छ । ४ हजार ७ सय मिटर उचाइमा रहेको कोर्समा प्रतियोगिता हुन थालेको छ । पहिलो पटक पुग्ने जो–कोहीलाई चकित पार्ने ऐतिहासिक तथा पुरातात्विक ठाउँ हो लोमान्थाङ । त्यही लोमान्थाङमा मुस्तङ गल्फ कोर्स बनेपछि अर्को गन्तब्य थपिएको छ ।




कुनै कलाकारले बडो मिहिनेतका साथ कोरेको आकृतिजस्तो भू–बनोट, हेर्दै लोमान्थाङ पुग्ने जो कोहीलाई लोमान्थाङ टेक्दा देखेको दृश्यले रमाञ्चित बनाउछ । ४ हजार ७ सय मिटर उचाइमा रहेको कोर्समा तीनवटा प्रतियोगिता भइसकेका छन् । गल्फरले टि–बक्सबाट जुनसुकै होलमा बल हान्दापनि हिमाललाई ताकेर हिर्काउन पाइने रोमाञ्चक अनुभव शब्दमा व्यक्त गर्न नसकिने गल्फरहरु सुनाउछन् ।

मौसम खुल्दा ३६० डिग्रीमा हिमाल, जमीन पुरै हरियो । विभिन्न रङ र आकृतिले सजिएका वरपरका डाँडाहरू लोमान्थाङमाको विशेषता हो । गाउँलेले च्याङ्ग्रा र चौरी चराउने खर्क विश्वकै अग्लो स्थानको गल्फ कोर्स बन्ला भन्ने सायदै सोँचेका थिए । लोमान्थाङ बजारदेखि पश्चिम डोल्पा जाने बाटोमा उक्त गल्फ कोर्स रहेको छ । अहिले त्यहाँसम्म पुग्न सडकसमेत विस्तार भइसकेको छ । कोर्सको संरक्षण लोमान्थाङमा युवा क्लब र गाउँपालिकाले गरिरहेको छ । प्रतियोगिता आयोजना गरेर विश्वको ध्यान आकर्षण गर्ने तयारी स्थानीयको छ । संसारभर मानवनिर्मीत गल्र्फ कोर्स भए पनि मुस्ताङको गल्फ कोर्स भने प्राकृतिक रुपमै सजिएको छ ।

खाडीको तातो हावामा गल्फ खेल्न सकिन्छ भने हिमालको चिसो हावामा किन सकिँदैन यही प्रश्नको उत्तर खोज्दै लोमान्थाङमा ३ वर्षदेखि प्रतियोगिता संचालन गर्दै आइएको छ । पूर्व सांसद तथा गल्फर इन्द्रधारा विष्ट लोमान्थाङमा गल्फ कोर्सको सुरुवात गर्न कम्मर कसेर लाग्नुभएको छ । विष्टले गल्फरलाइ मुस्ताङ मात्रै बोलाइरहेका छैनन्, विश्व रेकर्ड राख्न पनि कम्मर कसेर लागिरहनुभएको छ ।

गल्फ प्रतियोगितामार्फत पर्यटनको विकास, हिमाली जनजीवनसँग साक्षात्कार गराउने हुटहुटी विष्टमा छ । विश्वकै अग्लो ठाउँमा रहेको गल्फ कोर्सका रुपमा रेकर्ड राख्ने योजनामा नेपालका गल्फरहरु लागेका छन् । संसारका धेरैजसो धनाढ्यहरु खेल्ने खेलको रुपमा परिचित गल्फमार्फत मुस्ताङलेमात्रै होइन, देशले नै फाइदा लिन सक्ने देखिन्छ ।



