काठमाडौं । बर्सातकोे समयमा कसैले पनि सडकपेटीमा कष्टकर जीवनयापन गर्न नपरोस् भन्ने भावनाका साथ ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा– २०८३’ को सुरुवात गरिएको छ । यही वैशाख २७ देखि जेठ २२ गतेसम्म हुन लागेको यस अभियानको आज मेची पुलबाट औपचारिक शुभारम्भ गरिएको छ ।



यात्राको औपचारिक शुभारम्भ समारोहलाई सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य कबिन्द्र बुर्लाकोटीले विगत १३ वर्षदेखि सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धारमा मानव सेवा आश्रमले राज्यलाई पु¥याएको सहयोग महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले यस मानवीय कार्यमा राज्यका तीनै तहका सरकारहरुको सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले महानगरपालिकालाई स्वच्छ, सभ्य र व्यवस्थितसँगै आश्रयहीन बन्न पुगेका सडक मानवहरुको उचित व्यवस्थापनका लागि मानव सेवा आश्रमलाई सहयोग गर्दै आएको र आगामी दिनमा पनि यसलाई अझ बढाउँदै लैजाने नीति रहेको प्रस्ट पार्नुभयो ।
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले समाज सेवाभन्दा अर्को ठूलो पुण्य कार्य नभएको बताउँदै मानव कल्याणमा लाग्न सबैलाई आग्रह गर्नुभयो ।



