काठमाडौं- बागमती प्रदेशसभा सदस्य तथा बागमती प्रदेशकी पूर्व युवा तथा खेलकुद मन्त्री रमा आलेमगर भारतमा करिब डेढ वर्षसम्म चलेको उपचारपछि बिहीबार साँझ स्वदेश फर्किने भएकी छन्। कलेजोमा गम्भीर संक्रमण देखिएपछि भारतको मेदान्ता अस्पतालमा उनको कलेजो प्रत्यारोपण गरिएको थियो। शल्यक्रियापछि लामो समय चिकित्सकको निगरानीमा रहेर उपचार, पुनःस्थापना र नियमित स्वास्थ्य परीक्षण पूरा गरेपछि उनलाई नेपाल फर्किन अनुमति दिइएको हो।
आलेमगर बिहीबार साँझ ५ः४५ बजे काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ। स्वास्थ्य अवस्थामा उल्लेखनीय सुधार आएपछि गत महिनामै स्वदेश फर्किने तयारी भए पनि चिकित्सकले थप परीक्षण र निगरानी आवश्यक ठहर गरेपछि उनको बसाइ केही समय लम्बिएको थियो। सबै स्वास्थ्य परीक्षण सन्तोषजनक देखिएपछि अब उनी स्वदेश फर्किन लागेकी हुन्।



काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० (ख) बाट २०७४ र २०७९ सालको प्रदेशसभा निर्वाचनमा लगातार निर्वाचित आलेमगर बागमती प्रदेश सरकारमा युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारीसमेत सम्हालिसकेकी नेतृ हुन्। स्वास्थ्य समस्याका कारण सक्रिय राजनीतिक भूमिकाबाट केही समय टाढा रहेकी उनी उपचार सफल भएपछि पुनः सार्वजनिक जीवनमा फर्किने अपेक्षा गरिएको छ।
आफ्नो उपचार अवधिभर उनले चिकित्सक, परिवार, शुभेच्छुक तथा विभिन्न राजनीतिक दलका नेता–कार्यकर्ता र सर्वसाधारणबाट प्राप्त साथ, सहयोग र शुभेच्छाप्रति आभार व्यक्त गर्दै आएकी छन्। लामो उपचारपछि स्वास्थ्यमा सुधार भएसँगै उनको स्वदेश फिर्तालाई उनका समर्थक र शुभेच्छुकले सकारात्मक रूपमा हेरेका छन्।



