काठमाडौं । मैथिली साहित्यका अग्रणी स्रष्टा, भाषाविद् तथा शिक्षाविद् डा. राजेन्द्रप्रसाद विमलको निधन भएको छ । लामो समयदेखि मधुमेह र उच्च रक्तचापबाट पीडित उहाँको सोमबार राति पौने १ बजे जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा निधन भएको परिवारले जनाएको छ ।
मैथिली विकास कोषका संस्थापक अध्यक्षसमेत रहनुभएका डा. विमलले मैथिली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्याउनुभएको थियो । जनकपुरधामस्थित रामस्वरूप रामसागर बहुमुखी क्याम्पसमा करिब चार दशक अध्यापन गर्नुभएका उहाँले कथा, कविता, गीत, गजल, नाटक, उपन्यास र भाषाविज्ञानमा कलम चलाउनुभयो ।



‘ई हमरे कथा थिक’, ‘इतिहासक घाओ’, ‘डा. विमलका कथाहरू’ लगायत उहाँका कृति चर्चित छन् । उहाँ नेपाल विद्यापति भाषा, साहित्य पुरस्कारका पहिलो प्राप्तकर्ता हुनुहुन्थ्यो ।
डा. विमलको निधनले मैथिली साहित्य तथा मिथिलाको सांस्कृतिक क्षेत्रमा अपूरणीय क्षति पुगेको साहित्यकारहरूले बताएका छन् । उहाँको पार्थिव शरीर जनकपुरधाम–४ देवीचोकस्थित निवासमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको छ ।



