काठमाडौं । सुनसरीको वराहक्षेत्र–१ मा रहेको गुप्तवराह मन्दिर क्षेत्रमा मोनोरेल सञ्चालन गर्न सम्भाव्यता अध्ययन थालिएको छ । कोशी प्रदेश सरकारको आर्थिक वर्ष २०८३÷८४ सालको बजेटमा मोनोरेलका लागि बजेट छुट्याइएपछि प्रारम्भिक सम्भाव्यता अध्ययन सुरु गरिएको बताइएको छ । गुप्तवराह निर्माण समितिका अनुसार धार्मिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिएको यस क्षेत्रमा कोरियाबाट आएका मोनोरेल विज्ञको टोलीले मोनोरेल निर्माणको सम्भाव्यता अध्ययन सुरु गरिएको जानकारी दिएको छ ।
साबिक वराहक्षेत्र मन्दिर जाने सडकबाट करिब चार सय मिटर तल रहेको गुप्तवराह मन्दिरसम्म पुग्ने भौगोलिक अवस्थालाई ध्यानमा राख्दै मोनोरेल निर्माणको अवधारणा अघि सारिएको बताइएको छ । प्रारम्भिक अध्ययन अनुसार प्राविधिक पक्ष, पूर्वाधार आवश्यकताहरू, लागत अनुमान तथा सञ्चालन मोडेलबारे विस्तृत छलफल भइरहेको छ ।



सम्भाव्यता अध्ययनलाई अघि बढाउन थप सरोकारवाला निकायसँग छलफल गरिने बताइएको छ । मोनोरेल सम्भाव्यता अध्ययन सुरु भएसँगै परियोजनाले धार्मिक पर्यटनसँगै रोजगारी, व्यापार तथा स्थानीय विकासमा दीर्घकालीन प्रभाव पार्ने अपेक्षा गरिएको छ ।



