काठमाडौं – चन्द्रागिरि नगरपालिका–९ मच्छेगाउँमा राष्ट्रिय लाखे नाच प्रदर्शनी, सांस्कृतिक तथा सम्मान कार्यक्रम–२०८३ आयोजना हुने भएको छ। नेपाल सांस्कृतिक कला मन्दिर, मच्छेगाउँको आयोजनामा असोज ३ र ४ गते कार्यक्रम हुन लागेको हो। कार्यक्रम मच्छेगाउँस्थित भलिबल ग्राउण्डमा आयोजना गरिने आयोजकले जनाएको छ। ‘आफ्नो ठाउँको मौलिक कला र संस्कृति साटासाट गरौं’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको प्रदर्शनीमा देशका विभिन्न जिल्लाबाट लाखे नाचका टोली सहभागी हुने अपेक्षा गरिएको छ। लाखे नाचसँगै विभिन्न सांस्कृतिक प्रस्तुतिसमेत रहने आयोजकले जनाएको छ। लाखे नाच नेपाली, विशेषगरी नेवार समुदायको मौलिक सांस्कृतिक परम्परासँग जोडिएको महत्वपूर्ण नाचका रूपमा परिचित छ। यही परम्परालाई संरक्षण गर्दै नयाँ पुस्तासम्म यसको महत्व र सांस्कृतिक पक्ष पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकको भनाइ छ।
नेपाल सांस्कृतिक कला मन्दिरले नेपाली मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले हरेक वर्ष लाखे नाच प्रदर्शनी गर्दै आएको छ। यसपटक विभिन्न स्थानका लाखे नाचलाई एउटै थलोमा प्रस्तुत गर्ने तयारीले मच्छेगाउँमा सांस्कृतिक आदानप्रदानको वातावरण बन्ने अपेक्षा गरिएको छ। चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले लाखे प्रदर्शनीले देशभरका नेवार समुदायका कला तथा संस्कृतिलाई एउटै स्थानमा अवलोकन गर्ने अवसर प्रदान गर्ने बताएका छन्। उनले युवापुस्तामाझ संस्कृति, परम्परा र मौलिकताको महत्व उजागर गर्न कार्यक्रम उपयोगी हुने बताउँदै यसलाई नगरको गौरव बढाउने अवसरका रूपमा लिनुपर्ने धारणा राखेका छन्।



नेपाल सांस्कृतिक कला मन्दिरका अध्यक्ष रमेश शाहीका अनुसार प्रदर्शनीमा विभिन्न जिल्लाका लाखे सहभागी हुने तयारी छ। कार्यक्रममा सहभागी हुन चाहनेका लागि असोज १ गतेसम्म दर्ताको समय तोकिएको आयोजकले जनाएको छ।आयोजकले कार्यक्रमलाई केवल मनोरञ्जनको अवसरका रूपमा नभई मौलिक कला र संस्कृतिको संरक्षण तथा पुस्तान्तरणसँग जोडिएको अभियानका रूपमा अघि बढाउन खोजेको जनाएको छ। विभिन्न स्थानमा प्रचलनमा रहेका लाखे नाचलाई एउटै मञ्चमा प्रस्तुत गर्दा सांस्कृतिक विविधता बुझ्न र परम्परागत कलाबारे नयाँ पुस्तालाई नजिकबाट जानकारी लिनसमेत अवसर मिल्ने अपेक्षा गरिएको छ।
प्रदर्शनीले मच्छेगाउँलाई सांस्कृतिक गतिविधिको केन्द्रका रूपमा थप चिनाउन सहयोग पुग्ने आयोजक तथा स्थानीय सरोकारवालाको विश्वास छ। साथै, यस्ता कार्यक्रमले स्थानीय कला, संस्कृति र परम्परालाई पर्यटनसँग जोड्नसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।आयोजकले स्थानीयवासी, संस्कृतिप्रेमी, कलाकार तथा सर्वसाधारणलाई कार्यक्रममा सहभागी भई मौलिक कला र संस्कृतिको संरक्षणमा साथ दिन आग्रह गरेको छ।



