काठमाडौं । म्याग्दीको धौलागिरि गाउँपालिका–७ फेदीखोलामा दुई बोलेरो जिप दुर्घटनामा ९ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार ताकमबाट दरबाङतर्फ आउँदै गरेको बि. एए. ७७९५ नम्बरको बोलेरो जिप घुम्तीमा अनियन्त्रित भई पल्टँदा विपरीत दिशाबाट आइरहेको ग३च ३३१४ नम्बरको यात्रुवाहक बोलेरो जिप माथि खस्न पुगेको थियोे ।



दुर्घटनामा ग३च ३३१४ नम्बरको बोलेरो चालक पर्वतको जलजला गाउँपालिका–८ का अनिल नेपाली, ७७९५ नम्बरको बोलेरो चालक म्याग्दी धौलागिरि गाउँपालिका–३ मुनाका २७ वर्षीय धुर्व पुन घाइते भएका हुन् ।
त्यसैगरी धौलागिरि गाउँपालिका–७ का १७ वर्षीया रबिना सिर्पाली, ७४ वर्षीय सुनबिर रसाइली ७८ वर्षीया ख्याउटी रसाइली, ४० वर्षीया धना कुमारी सुनार, ६३ वर्षीय दलबहादुर सुनार र २६ वर्षीया कल्पना सुनार, रोल्पाको थवाङ गाउँपालिका–५ का ५२ वर्षीय भिमसेन पुन घाइते भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेका सबै घाइतेको मालिका गाउँपालिका–६ स्थित दरवाङ आधारभूत अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार दुर्घटनामा परेका दुई सवारी साधनमा १० जना सवार रहेकामा एक जना सकुशल रहेका छन् भने ९ जना घाइते भएका छन् । दुर्घटनाको कारण र थप विवरणबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।



