नेपालमा यस वर्षको मनसुन बाहिरिन केही दिन ढिलो हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा मनसुन बहिर्गमनको औसत मिति अक्टोबर २ तारिख रहे पनि यस वर्ष केही दिन ढिलो बाहिरिने सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।
महाशाखाले शुक्रबार विशेष मौसम बुलेटिन निकालेर हाल बङ्गालको खाडीको उत्तर–पश्चिम भागमा विकास भइरहेको न्यूनचापीय प्रभावले मनसुन बहिर्गमन ढिलो हुने प्रक्षेपण गरेको हो । महाशाखाका मौसमविद् सञ्जिव अधिकारीले वर्षा गराउने प्रणाली (न्यूनचापीय क्षेत्र) को विकास भएकाले अबको केही दिन बदली र वर्षाको सम्भावना रहेको बताए ।



अहिले देशको पूर्वी क्षेत्रबाट न्यूनचापीय क्षेत्रको विकास भइरहेकाले अबको दुई-चार दिन कतिपय स्थानमा भारी वर्षाको सम्भावना रहेकाले पूर्व सतर्कता अपनाउन मौसम पूर्वनुमान महाशाखाले अनुरोध समेत गरेको छ ।



