यही साउन २ गते शुरु भएको अधिकमास अर्थात् मलमास आजबाट सकिँदैछ । सामान्यतया एउटा सौरमासमा दुईवटा औँसी पर्दा अधिकमास हुन्छ । यो महिना साउन २ गते र आज औँसी परेको हो । प्रत्येक तीन वर्षमा एकपटक आउने मलमास अवधिमा कुनै पनि शुभ र नयाँ कार्यको थालनी गर्न नहुने परम्परा छ ।



मलमासको अन्तिम दिन आज श्रद्धालुले व्रत, उपवास, विष्णु भगवानको जप, पूजा, भजन कीर्तन तथा पुराण पाठ गर्नुका साथै दान गर्ने प्रचलन छ । मलमासका कारण यस वर्ष जनैपूर्णिमा, तीज दशैँ र तिहार जस्ता चाडपर्व झण्डै एक महिना पछाडि धकेलिएका छन् । मलमासमा भगवान् विष्णु अर्थात् पुरुषोत्तमको आराधना गरिने भएकाले यसलाई पुरुषोत्तम महिना पनि भन्ने गरिएको छ ।
मलमासमा काठमाडौको चन्द्रागिरि नगरपालिका–९ मा पर्ने मत्स्यनारायण मन्दिरमा लागेको मेला पनि आज सकिदैछ । भगवान् विष्णुका दश अवतारमध्ये पहिलो मत्स्य अवतार यही ठाउँमा लिएर उनले वेदको रक्षा गरेको विभिन्न पुराणमा उल्लेख छ ।
मत्स्य अवताररूपी भगवान् विष्णुले जलमात्र पिएर सत्यव्रत राजासहित सप्तऋषिलाई मत्स्य पुराण सुनाएको विश्वास गरिन्छ । हालसम्म २० लाखभन्दा धेरै भक्तजनले मन्दिरमा पूजा, आराधना एवम् दर्शन गरेको मेला व्यवस्थापन समितिले जनाएको छ । कीर्तिपुर ४ सँग जोडिएको मत्स्यनारायण क्षेत्र धार्मिक रूपमा महत्वपूर्ण मानिन्छ ।



