यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा बलियो प्रतिद्वन्द्वी भारतविरुद्ध ब्याटिङ सुरु गरेको छ। ओमानको अल अमेरातमा जारी खेलमा भारतले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि नेपालले ब्याटिङको निम्तो पाएको हो। प्रतियोगिताको सुरुवाती खेलमै भारतसँग प्रतिस्पर्धा गर्न लागेको नेपालले सुखद सुरुवात गर्ने लक्ष्य राखेको छ।

प्रतियोगिताको समूह ‘ए’मा रहेको नेपालले समूह चरणमा भारतसँगै युनाइटेड अरब इमिरेट्स (यूएई) र पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। नेपालले भारतपछि कात्तिक २२ गते यूएई र २४ गते पाकिस्तानसँग खेल्ने तालिका रहेको छ।

प्रतियोगिता यही कात्तिक २८ गतेसम्म सञ्चालन हुनेछ। समूह चरणका खेलमा उत्कृष्ट प्रदर्शन गर्दै अर्को चरणमा पुग्ने लक्ष्यसहित नेपाली युवा टोली मैदानमा उत्रिएको छ। प्रतियोगिताका लागि नेपालले विपिनप्रसाद शर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ। टोलीमा निरजकुमार यादव, प्रसिद्ध जैशी, सोहेल कुँवर, दर्श सुनार, रोहित चन्द, निश्चल क्षेत्री, आशिष लुहार, रोशन शाही, सूर्यान्शु कोइराला, अभय यादव, सुशील रावल, नितेशकुमार पटेल, शुभम खनाल र सचिन भट्ट रहेका छन्। भारतविरुद्धको पहिलो खेल नेपालका लागि प्रतियोगितामा आफ्नो क्षमता प्रदर्शन गर्ने महत्त्वपूर्ण अवसरका रूपमा रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय