काठमाडौं । गृहमन्त्री रमेश लेखकले पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको कारागार स्थान्तरणको विषय अघि बढेको बताउनुभएको छ ।
प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार आयोगको बैठकमा गृहमन्त्री लेखकले कारागार स्थान्तरण सरकारले गर्ने बताउँदै सुरक्षालगायत सबै विषय सुनिश्चित गरेर निर्णय गर्नुपर्नेमा जोड दिनुभयो । गृहमन्त्री लेखकले अड्डासारका लागि अदालतबाट आदेश नभइ सहमति÷अनुमति लिनुपर्ने पनि बताउनु भयो । जुन अदालतमा मुद्दा चलिरहेको हुन्छ, त्यो अदालतले अनुमति दिनुपर्नेमा अदालतबाट अनुमति प्राप्त भइसकेको पनि उहाँले बताउनुभयो । उहाँले सरकारले कुन कारागारमा सार्ने सुरक्षाका सबै विषय हेरेर निर्णय गर्नुपर्ने भएकाले आफूले यसलाई गम्भीरतापूवर््क लिएको र आफू सकारात्मक भएको बताउनुभयो ।



रवि लामिछाने कारागारमा पाउनुपर्ने कुनै पनि सुविधाबाट वञ्चित नभएको बताउँदै मन्त्री लेखकले जेलहरू साघुँरा भएको र सानै भएपनि लामिछानेलाई विशेष सुविधा नभइ अलग्गै कोठामा भने राखिएको जानकारी दिनुभयो । मन्त्री लेखकले कैलाली कारागार छानविन समितिको प्रतिवेदन सार्वजनिक भएपछि कानुनअनुसार दोषीमाथि कारबाही गरिने बताउँदै कारागारमा हतियार प्रवेशको विषय गलत भएको स्पष्ट पार्नुभयो ।



