काठमाडौं । रवि लामिछानेको नाम कास्की प्रहरी हिरासतमा रहेका बेला काठमाडौंको स्वर्णलक्ष्मी सहकारी घोटालामा मुछिएको खबरले अहिले चर्चा पाएको छ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाले १ अर्ब ११ करोड १८ लाख ५८ हजार रुपैयाँ अपचलन गरेको आरोपमा लामिछानेसहित गोरखा मिडिया नेटवर्कका अध्यक्ष जीबी राई, पूर्वडीआईजी छविलाल जोशी लगायतका व्यक्तिहरू मुछिएका छन् ।
रवि लामिछाने कसरी जोडिए ?



रवि लामिछाने गोरखा मिडिया नेटवर्कमार्फत स्वर्णलक्ष्मी सहकारीमा संलग्न थिए । अनुसन्धानमा भेटिएका कागजात अनुसार, उहाँ र जीबी राईको नाममा सहकारीबाट दुईपटक ऋण प्रवाह भएको देखिएको छ ।
१. २०७८ साउन ४ गते फोर ह्वीलर गाडी किन्नका लागि ४६ लाख ९८ हजार रुपैयाँको ऋण प्रवाह भएको थियो । यसमध्ये १४ लाख ७७ हजार रुपैयाँ फिर्ता गरिएको छ भने ३२ लाख २१ हजार रुपैयाँ अझै बाँकी रहेको पाइएको छ ।
२. २०७८ पुस १ गते इको सेभेन सिटर भ्यान किन्न ४६ लाख ८८ हजार रुपैयाँ ऋण प्रवाह गरिएको थियो । यस ऋणको १७ लाख ३६ हजार रुपैयाँ तिरिएको र बाँकी २९ लाख ५२ हजार रुपैयाँ अझै फिर्ता नगरिएको कागजात भेटिएको छ ।
यी कागजातहरू जीबी राईको नेचर हब्र्स नामक कम्पनीको शंखमुलस्थित कार्यालयबाट बरामद गरिएको थियो । यही विवरणको आधारमा काठमाडौं जिल्ला अदालतले रवि लामिछाने र छविलाल जोशीविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो ।
स्वर्णलक्ष्मी सहकारी घोटालाको विस्तृत विवरणः
१. ६ सय ४५ जना बचतकर्ताहरूको निवेदनको आधारमा काठमाडौं जिल्ला अदालतले यस प्रकरणमा अनुसन्धान अघि बढाएको हो ।
२. सहकारीबाट २ अर्बभन्दा बढी रकम अपचलन भएको प्रारम्भिक अनुमान गरिएको छ । सहकारीका २७ हजार बचतकर्ताहरू मध्ये धेरैले आफ्नो बचत फिर्ता पाउन नसकेको आरोप छ ।
३. यस प्रकरणमा २८ जना भन्दा बढी सहकारीका पदाधिकारीहरू (अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष, सदस्य लगायत) विरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।
अन्य आरोपहरू
रवि लामिछानेमाथि अन्य सहकारीहरूसँग पनि ठगीको आरोप लागेको छ ।
१. पोखराको सूर्यदर्शन सहकारीबाट १ करोड रुपैयाँ ऋण लिएर नतिरेको ।
२. रुपन्देहीको सुप्रिम सहकारीमा रोशनी गुरुङ नामकी कर्मचारीले रविको नाममा २ करोड रुपैयाँ जम्मा गरेको विषयमा बयान दिइसकेको छ ।
यो घटनाले नेपालको सहकारी प्रणालीमा भएको व्यापक अनियमितता र अपचलनलाई उजागर गरेको छ । यसले सहकारी संस्थामा जोडिएका चर्चित व्यक्तिहरूको भूमिका र उनीहरूको आर्थिक गतिविधिहरूलाई समेत प्रश्नचिन्ह लगाएको छ । रवि लामिछानेको यो मुद्दाले आगामी दिनमा नेपाली राजनीतिको अवस्थालाई पनि प्रभावित पार्न सक्छ ।



