राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबीच आगामी राजनीतिक सहकार्यबारे गहिरो छलफल भएको छ। स्रोतका अनुसार दुवै नेताबीच पछिल्लो समय लामो समयसम्म संवाद भएको र भविष्यको राजनीतिक दिशा, सहकार्यको मोडालिटी तथा वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउने विषयमा विचार–विमर्श भएको हो।

उक्त भेटवार्ता काठमाडौंको कमलपोखरी क्षेत्रमा भएको बताइन्छ, जहाँ दुवै नेताबीच घण्टौँसम्म एक्लाएक्लै छलफल भएको स्रोतको दाबी छ। प्रारम्भिक छलफलमा केही नजिकका व्यक्तिहरू सहभागी भए पनि मुख्य संवाद भने रवि र बालेनबीच सीमित रहेको बताइएको छ। छलफलपछि दुवै नेता एउटै सवारी साधनमा बाहिरिएको दृश्यले समेत राजनीतिक वृत्तमा चासो बढाएको छ।

छलफलका औपचारिक एजेन्डा सार्वजनिक नगरिए पनि स्रोतहरूका अनुसार देशको वर्तमान राजनीतिक अवस्था, वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता, युवा पुस्ताको अपेक्षा र आगामी निर्वाचनमा सम्भावित सहकार्यबारे संवाद केन्द्रित थियो। विशेषगरी दुवै नेताले पुराना राजनीतिक अभ्यासभन्दा फरक ढंगले अघि बढ्नुपर्नेमा जोड दिएको बताइन्छ।

राजनीतिक विश्लेषकहरूका अनुसार रवि लामिछाने र बालेन साह दुवै नेता जनतामाझ फरक पहिचान बनाएका व्यक्तित्व हुन्। उनीहरूबीच सहकार्य भएमा त्यसले समकालीन राजनीतिमा नयाँ बहस र समीकरण जन्माउन सक्ने आँकलन गरिएको छ। यद्यपि पार्टी एकता वा औपचारिक गठबन्धनबारे कुनै ठोस निर्णय भइसकेको छैन।

दुवै पक्ष निकट स्रोतका अनुसार छलफललाई निरन्तरता दिने समझदारी भएको छ र आवश्यक परे थप चरणमा संवाद अघि बढाइनेछ। यस घटनाक्रमलाई वैकल्पिक राजनीतिक शक्तिहरूबीच सम्भावित एकताको प्रारम्भिक संकेतका रूपमा हेरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय