काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित बालबालिकाको पढाइ निरन्तरता र मानसिक स्वास्थ्यमा परेको असर कम गर्ने उद्देश्यले उनीहरूलाई काठमाडौंका विद्यालयमा भर्ना गराउने पहल अघि बढाइएको छ। बाढीका कारण घर, विद्यालय तथा दैनिक जीवन प्रभावित भएका बालबालिकाको शिक्षामा अवरोध नहोस् भन्ने उद्देश्यले काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख डंगोलको पहलमा उनीहरूलाई काठमाडौं ल्याएर विद्यालय शिक्षासँग जोड्ने प्रयास गरिएको हो।
प्राकृतिक विपत्तिपछि बालबालिकामा डर, त्रास तथा मानसिक तनाव उत्पन्न हुनसक्ने भएकाले उनीहरूलाई सुरक्षित वातावरणमा राख्दै नियमित पठनपाठनमा फर्काउन आवश्यक रहेको जनाइएको छ। विद्यालयमा भर्नासँगै बालबालिकाको मनोसामाजिक अवस्थालाई समेत ध्यान दिइने बताइएको छ।



बाढी तथा पहिरोजस्ता विपत्तिका कारण विस्थापित भएका बालबालिकाको शैक्षिक भविष्यमा दीर्घकालीन असर नपरोस् भन्ने उद्देश्यले तत्कालै वैकल्पिक शैक्षिक वातावरण उपलब्ध गराउने पहल गरिएको हो।कार्यवाहक प्रमुख डंगोलले विपत्तिबाट प्रभावित बालबालिकालाई केवल राहत उपलब्ध गराएर मात्र पर्याप्त नहुने भन्दै उनीहरूको शिक्षा र मनोसामाजिक पक्षलाई पनि प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन्।
बालबालिकालाई नियमित विद्यालय वातावरणमा फर्काउँदा उनीहरूमा उत्पन्न भएको डर तथा मानसिक आघात कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, पढाइलाई निरन्तरता दिन पाउँदा विपत्तिका कारण सिर्जना भएको असहज परिस्थितिबाट बाहिर निस्कन उनीहरूलाई सहज हुने विश्वास गरिएको छ।भोटेकोशी बाढीबाट प्रभावित परिवार तथा बालबालिकाको आवश्यकताअनुसार शिक्षा, स्वास्थ्य तथा मनोसामाजिक सहयोगलाई निरन्तरता दिनुपर्नेमा समेत जोड दिइएको छ।



