नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थायी भइसकेको बताउँदै रहर गरेर राजतन्त्र फर्किन नसक्ने स्पष्ट पारेका छन्। बिहीबार नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै देउवाले गणतन्त्र सहज रूपमा प्राप्त नभएको उल्लेख गरे। उनले बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालालगायत नेताहरूको संघर्षका कारण नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बताए।
उनले भने, नेपाली जनताले संविधानसभामार्फत गणतन्त्रलाई स्वीकार गरिसकेका छन्। यो अब हट्ने कुरा नै छैन। हाम्रो संविधान समावेशी छ, सबै क्षेत्र, समुदायलाई प्रतिनिधित्व गराउने संरचनासहित बनेको छ। उनका अनुसार, कुनै पनि राजनीतिक प्रणाली जनताको चाहनाअनुसार निर्धारण हुन्छ, र नेपालमा गणतन्त्र जनताको चाहनाअनुसार आएको व्यवस्थामा रूपान्तरण भइसकेको छ। उनले लोकतान्त्रिक मूल्यहरूको रक्षा गर्दै गणतन्त्रलाई अझ मजबुत बनाउन आवश्यक रहेको बताए।उनले थपे,अब हामीले लोकतन्त्रलाई संस्थागत गर्दै नागरिक अधिकारको सुनिश्चितता गर्नुपर्छ।



नेपालमा लोकतान्त्रिक प्रणाली स्थायी रूपमा स्थापित भइसकेको देउवाको दाबी छ, र यसलाई सबलीकरण गर्न सबै पक्षको सक्रिय भूमिका आवश्यक रहेको उनले बताए।



