नेपालको राजनीतिमा नयाँ अध्याय सुरु गर्दै बालेन्द्र शाहको नेतृत्वमा आज नयाँ सरकार गठन भएको छ। नवनिर्मित मन्त्रिपरिषद्को बनोट हेर्दा परम्परागत राजनीतिक भागबन्डाभन्दा पनि ‘राइट म्यान इन राइट प्लेस’ अर्थात ‘सही ठाउँमा सही व्यक्ति’को अवधारणालाई आत्मसाथ गर्न खोजिएको देखिन्छ। मन्त्रिपरिषद्मा विषयगत विज्ञता, युवा प्रतिनिधित्व र सामाजिक समावेशिताको रोचक सन्तुलन पाइएको छ । बालेन सरकारका मन्त्रिपरिषद् सदस्य कस्ता छन् त ?
लोकतन्त्र स्थापनापछि बनेका जननिर्वाचित प्रधानमन्त्रीहरुमध्ये सबैभन्दा कान्छा प्रधानमन्त्री बालेन्द्र शाहको क्याबीनेटमा ४० वर्ष मुनिका १० जना मन्त्री छन् । प्रधानमन्त्री स्वयं ३६ वर्षको हुनुहुन्छ । वर्षौँदेखि देखिँदै आएका पुराना अनुहारदेखि वाक्क भएका युवाले देशमा नयाँ अनुहारको नेतृत्व खोजिरहेको बेलामा फागुन २१ मा भएको प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २८२ सिट जितेको थियो। दुई तिहाइको जनमतसहित बालेनले सरकारको नेतृत्व गर्दा अधिकांश मन्त्रीहरुको पनि युवा नै छन् । (नयाँ सरकारको सबैभन्दा बलियो पक्ष अर्थमन्त्रीमा डा स्वर्णिम वाग्लेको नियुक्ति हुनु हो। ५१ वर्षीय वाग्ले विश्वकै प्रतिष्ठित शिक्षण संस्थाहरूबाट दीक्षित अर्थविद् हुनुहुन्छ । राष्ट्रिय योजना आयोगको उपाध्यक्ष र यूनडीपी एसिया–प्रशान्त क्षेत्रका प्रमुख आर्थिक सल्लाहकार भइसक्नुभएका उहाँमा आफैँले कोरेको रास्वपाको आर्थिक मार्गचित्र कार्यान्वयन गर्ने चुनौती र अवसर दुवै आएको छ ।
३८ वर्षीय गृहमन्त्री सुधन गुरुङ जेनजी आन्दोलनको जगबाट उदाएको पात्र हुनुहुन्छ । १० वर्षदेखि हामी नेपाल मार्फत समाजसेवामा सक्रिय रहनुभएका उहाँले युवाहरूको आक्रोश र आशा दुवैलाई बुझ्नुभएको छ ।



शिक्षा मन्त्रालय सम्हालिसक्नुभएका परराष्ट्रमन्त्री शिशिर खनालसँग टिच फर नेपाल जस्ता सफल अभियानको अनुभव छ। अमेरिकाको विसकन्सिन विश्वविद्यालयबाट सार्वजनिक नीतिमा स्नातकोत्तर गर्नुभएका खनालबाट परिपक्व कूटनीतिको अपेक्षा गर्न सकिन्छ । यसपटक मन्त्रालयको जिम्मेवारी बाँडफाँडमा व्यक्तिको शैक्षिक र व्यावसायिक पृष्ठभूमिलाई विशेष प्राथमिकता दिइएको छ । अधिवक्ताको पृष्ठभूमि भएको कानुनमन्त्री सोबिता गौतम कानुनी जटिलता बुझेको युवा नेत्री हुनुहुन्छ । नर्सिङमा स्नातकोत्तर गर्नुभएकी स्वास्थ्यमन्त्री निशा मेहताले स्वास्थ्य प्रणालीका तल्लो तहका समस्यालाई नजिकबाट भोग्नुभएको छ ।
सिभिल इन्जिनियरिङमा स्नातक र स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गर्नुभएका भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल पूर्वाधार विज्ञ हुनुहुन्छ। बालेनको टिममा रहेर काठमाडौं महानगरमा काम गरिसक्नुभएका उहाँसँग कार्यान्वयनको अनुभव छ।
३० वर्षीय सस्मित पोखरेल शिक्षा मन्त्री बन्नुभएको छ । काठमाडौं महानगरपालिकामा सुधारका योजना सफल पार्न मुख्य भूमिका खेल्नुभएका पोखरेलले अब त्यही महानगर मोडललाई देशभर विस्तार गर्ने जिम्मेवारी पाउनुभएको छ । शिक्षा क्षेत्र सुधारको रणनीतिक योजनाकारका रुपमा उहाँलाई चित्रित गरिएको छ ।
मन्त्रिपरिषद्मा सामाजिक र सांस्कृतिक विविधतालाई पनि सम्बोधन गरिएको छ । वादी समुदायबाट मन्त्री बन्ने पहिलो व्यक्तिका रूपमा सीता वादी महिला तथा बालबालिका मन्त्री बन्दै इतिहास रच्नुभएको छ ।
सम्पदा संरक्षण र नेवार समुदायको मुद्दामा प्रखर ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठसँग यसअघि मन्त्री भएको अनुभव पनि छ।
थारु समुदायको प्रतिनिधित्व गर्दै कृषि मन्त्री बन्नुभएकी कानुन व्यवसायी गीता चौधरीले किसानका मुद्दा उठाउने अपेक्षा गरिएको छ।
अन्तर्राष्ट्रिय मामिलाका अध्येता र सञ्चारकर्मी डा विक्रम तिमल्सिनाले सञ्चार क्षेत्रको आधुनिकीकरणमा योगदान दिने अपेक्षा गर्न सकिन्छ ।
पोखराको स्थायी बासिन्दा र पर्यटनको मर्म बुझेका खडक राज पौडेल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्नुभएको छ ।
अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाउनुभएका जनस्वास्थ्य तथा दृष्टि विशेषज्ञ दीपककुमार साह श्रम मन्त्रालयको नेतृत्व सम्हाल्न आइपुग्नुभएको छ । )
बालेन शाहको यो मन्त्रिपरिषद्मा विज्ञता र युवा जोसको बाहुल्यता छ। परम्परागत दलहरूभन्दा फरक शैलीमा काम गर्ने दबाबमा रहेको यो सरकारका लागि डेलिभरी नै मुख्य परीक्षा हुनेछ।



