काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा सांसद महेश बस्नेतले आफूविरुद्ध भइरहेको पक्राउको दबाब र अनुसन्धानलाई राजनीतिक प्रतिशोधको संज्ञा दिएका छन्। बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यदि राजनीतिक प्रतिशोध हावी भए देशको परिस्थिति अझ जटिल बन्ने चेतावनी दिए।

बस्नेतले बुधबार बिहानै नेपाल प्रहरीको साइबर ब्युरोमा एक महिलाको जाहेरीका आधारमा बयान दिएर फर्किएलगत्तै पत्रकार सम्मेलन गरेका हुन्।

पक्राउ दबाब र अनुसन्धानमाथि प्रश्न

पत्रकार सम्मेलनमा बस्नेतले आफूमाथि भइरहेको अनुसन्धान र सरकारी वकिलको कार्यालयले समेत पक्राउ पुर्जीका लागि गरेको पत्राचारलाई लक्षित गर्दै वर्तमान सरकारले आफूमाथि नियोजित रूपमा आक्रमण गरेको दाबी गरे।

“म कानुनको शासनमा विश्वास गर्छु र अनुसन्धानमा सहयोग गर्न साइबर ब्युरोमा उपस्थित भएँ,” उनले भने, “तर, सामान्य विषयलाई अतिरञ्जित गरेर जुन किसिमले पक्राउका लागि दबाब दिइएको छ, यो विशुद्ध राजनीतिक प्रतिशोध हो। एमालेका नेतालाई तारो बनाउने काम बन्द गरियोस्।”

उनले आफ्नो नेतृत्व र एमालेका अध्यक्ष केपी शर्मा ओली माथि पनि लगातार प्रतिशोध साँध्न खोजिएको आरोप लगाउँदै युवा शक्तिले यस्तो कार्य सह्य नहुने चेतावनी दिए।

‘नेपो बेबी’ र पत्रकार धम्कीको विषय

बस्नेतले पछिल्लो समय सामाजिक सञ्जालमा चर्चामा रहेको ‘नेपो बेबी’ अभियानले आफ्ना छोरी-ज्वाइँ लगायत अन्य निर्दोष व्यक्तिहरूलाई लक्षित गरी मानसिक यातना दिएको बताए। उनले यस्ता सामाजिक अभियानहरू सामाजिक सद्भाव खल्बल्याउने गरी अघि बढ्न नहुनेमा जोड दिए।

यस्तै, पत्रकार टेकमान शाक्यलाई धम्की दिएको भन्दै आफूमाथि भएको कारबाहीको मागको विषयमा उनले स्पष्टीकरण दिए। उनले पत्रकारसँगको संवादमा सामान्य ‘असहमति’ मात्र रहेको तर त्यसलाई ठूलो मुद्दा बनाएर प्रेस स्वतन्त्रतामाथि आक्रमण गरेको रूपमा प्रस्तुत गरिएको दाबी गरे।

बस्नेतले आफू र आफ्नो पार्टीमाथि भइरहेका सबै खाले दबाब र आरोपको राजनीतिक तथा कानुनी दुवै तरिकाले सामना गर्ने प्रण गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय