काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पतञ्जली जग्गा प्रकरणमा आफूले कुनै अनुचित काम नगरेको दाबी गर्नुभएको छ । उहाँले आफूले कहिले पनि घुस नलिएको र देश तथा जनतालाई घात हुने कुनै अनुचित काम नगरेको बताउनु भयो । देश र जनतालाई नोक्सान हुने केही काम गरेको भए त्यसको सम्पूर्ण जिम्मेवारी लिन तयार रहेको पनि अध्यक्ष नेपालको भनाइ छ ।



पार्टी निकट मधेस प्रदेश सम्पर्क कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूमाथि पूर्वाग्रह राखेर भ्रष्टाचारको मुद्दा दर्ता भएको दोहोर्याउनु भयो । राजनीतिमा आफ्नो पार्टीको भूमिका महत्वपूर्ण रहेको र त्यसैलाई देखेर केही व्यक्ति आत्तिएको अध्यक्ष नेपालको तर्क छ ।
केही व्यक्तिलाई बदलाको भावनाले पोलिरहेको टिप्पणी गर्दै नेपालले आफूमाथि भ्रष्टाचारको मुद्दा लगाइएको जिकिर समेत गर्नुभयो । पतञ्जली जग्गा प्रकरणमा आफूमाथि लगाएको आरोपविरुद्ध दृढतासाथ उभिने बताउँदै अध्यक्ष नेपालले न्यायपालिकाले न्याय दिने पनि विश्वास व्यक्त गर्नुभयो ।



