नेकपा (एमाले)का नेता योगेश भट्टराईले राजनीतिलाई नियन्त्रण गर्ने वा रोक्ने प्रयासले ठूलो वितण्डा निम्त्याउन सक्ने चेतावनी दिएका छन्।
छठ पर्वको अवसरमा भिडियोमार्फत शुभकामना सन्देश जारी गर्दै उनले भने, “जसरी प्रकृतिलाई थुन्दा र छेकेर विनाशकारी परिणाम आउँछ, त्यसरी नै राजनीतिलाई थुन्न खोजियो भने पनि ठूलो संकट आउन सक्छ।”



उनका अनुसार पार्टी र समाजमा राजनीतिको प्राकृतिक बहावलाई रोक्नु हुँदैन। भट्टराईले भने, “चाहे पार्टीभित्र होस् वा समाजमा, राजनीतिलाई सहज र स्वाभाविक रूपमा अघि बढ्न दिनुपर्छ।”
भट्टराईले भदौ महिनामा भएको जेनजी आन्दोलनलाई स्मरण गर्दै त्यस घटनाबाट सबैले पाठ सिक्नुपर्ने बताए। उनले भने, “२३ र २४ भदौका घटनाबाट हामीले आत्मसमीक्षा गर्नुपर्छ र देशलाई फेरि लोकतान्त्रिक अभ्यासमा फर्काउनुपर्छ।”
उनले सबै राजनीतिक दल र जेनजी आन्दोलनपछि देखा परेका नयाँ शक्तिहरूबीच सहकार्य र संवाद आवश्यक रहेको पनि बताए। भट्टराईका अनुसार, “सहकार्य र सहमतिको बाटोबाट मात्रै देशलाई सही दिशामा लैजान सकिन्छ।”
छठ पर्वले नेपालीबीच एकता, सद्भाव र सहकार्यको सन्देश फैलाओस् भन्ने शुभकामना दिँदै उनले सन्देशको समापन गरेका छन्।



