राजविराज — जिल्ला कारागार राजविराजभित्र लागूऔषधको कारोबार तथा सेवन नियन्त्रण गर्न खोज्दा आफू कुटपिटको शिकार भएको बी–ब्लकका चौकीदार रामरिक्षण यादवले आरोप लगाएका छन्। उनले कारागारभित्र लागूऔषध कारोबारमा संलग्न समूह सक्रिय रहेको दाबी गर्दै त्यसलाई रोक्ने प्रयास गर्दा आफूमाथि आक्रमण भएको बताएका हुन्।

यादवका अनुसार कारागारभित्र लागूऔषधको कारोबार र सेवन लामो समयदेखि समस्या बन्दै आएको छ। उक्त गतिविधि नियन्त्रण गर्न खोज्दा जोगानन्द मण्डलले आफूमाथि कुटपिट गरेको उनको आरोप छ। उनले कारागार प्रशासन र सम्बन्धित निकायले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्नुपर्ने माग गरेका छन्।

यादवले कारागारभित्र लागूऔषध नियन्त्रण, सुरक्षा व्यवस्था मजबुत बनाउन तथा कैदीबन्दीको वातावरण शान्तिपूर्ण बनाउन प्रभावकारी कदम चाल्न आग्रह गरेका छन्। उनका अनुसार लागूऔषधजस्ता गैरकानुनी गतिविधिले कारागारको अनुशासन र सुरक्षामा असर पारिरहेको छ।

यसैबीच, विवादका क्रममा बुधन मण्डलले खाना पकाउने स्टोभको मट्टीतेल शरीरमा खन्याएर आत्मदाहको प्रयास गरेको भन्ने समाचारप्रति पनि यादवले आपत्ति जनाएका छन्। उनले उक्त समाचार भ्रामक, तथ्यहीन र वास्तविकताविपरीत रहेको दाबी गर्दै घटनाको वास्तविकता बाहिर ल्याउन निष्पक्ष छानबिन आवश्यक रहेको बताएका छन्।

यादवले सम्बन्धित निकायसँग घटनाको सत्यतथ्य सार्वजनिक गर्न र कारागारभित्र हुने अवैध गतिविधि नियन्त्रणका लागि आवश्यक कदम चाल्न माग गरेका छन्। हालसम्म यादवले लगाएका आरोपबारे जिल्ला कारागार प्रशासन वा अन्य सम्बन्धित निकायबाट आधिकारिक प्रतिक्रिया सार्वजनिक भएको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय