काठमाडौं । बाराको पथलैयास्थित राजश्व अनुसन्धान कार्यालयले ५ करोड ७ लाख ९४ हजार ९ सय ८२ रुपैयाँ राजश्व चुहावटको माग दाबीसहित दुई कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ ।
राजश्व अनुसन्धान कार्यालयका प्रमुख अनुसन्धान अधिकृत हरिप्रसाद शर्माले अमायरा वस्त्रालयका संचालक चन्दन गुप्ता र शिवशान्ति कन्स्ट्रक्सनका संचालक सञ्जयकुमार कुर्मीको कम्पनीले राजश्व छली कसुर गरेको मागदाबीसहित उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा अभियोगपत्र दायर गरेको हो ।



अमायरा वस्त्रालयका सञ्चालक जितपुर सिमरा उपमहानगर– ७ का चन्दन गुप्ताले विजक नै जारी नगरी गलत विवरण बुझाई कपडाको कारोबार गरी राजश्व चुहावटको कसुर गरेकोले कपडाको आयकरतर्फ १ करोड ६५ लाख ६० हजार ५ सय ९३ रुपैयाँ र मूल्यअभिबृद्धि करतर्फ ५८ लाख ३७ हजार ६ सय ८३ गरी कुल र्२ करोड २३ लाख ९८ हजार २ सय ७६ रुपैयाँ बिगो कायम गरिएको छ ।
राजश्व कार्यालयले गुप्तालाई राजश्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन, २०५२ को दफा २३ (१) बमोजिम बिगो असुलउपर गरी बिगोको शतप्रतिशत जरिवाना गरी हुन आउने ४ करोड ४७ लाख ९६ हजार ५ सय ५३ र कैद सजायको मागदाबी लिई अभियोगपत्र दर्ता गरिएको छ ।
यसैगरी कुर्मीले शिव शान्ति कन्स्ट्रक्सनले दोहोरो रसिदमार्फत कारोबार गरेर राजश्व चुहावट गरेको कसुरमा बिगोतर्फ १९ लाख ६० हजार १ सय ५१ रुपैयाँ र मूल्यअभिबृद्धि करतर्फ बिगो १० लाख ३९ हजार ६३ गरी २९ लाख ९९ हजार २ सय १४ को शतप्रतिशत जरिवाना गरी ५९ लाख ९८ हजार ४ सय २८ र कैद सजायको अभियोगपत्र दर्ता भएको छ ।



