राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता मोहन कुमार श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)माथि निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोप लगाएका छन्। प्रवक्ता श्रेष्ठले जारी गरेको वक्तव्यमा रास्वपाले चुनाव प्रचारका क्रममा अत्यधिक ध्वनि हुनेगरी घण्टी बजाउँदै हिँडेको दाबी गर्दै यसले ध्वनि प्रदूषण बढाएको उल्लेख गरेका छन्। उनले यस विषयमा निर्वाचन आयोग को ध्यानाकर्षण गराउँदै आचारसंहिता कार्यान्वयनमा गम्भीर हुन आग्रह गरेका छन्।
वक्तव्यमा प्रतीक चिन्हको प्रयोगसँग सम्बन्धित गतिविधिप्रति प्रश्न उठाउँदै उनले अन्य दलहरूले पनि आफ्नो चुनाव चिह्नको नाममा उस्तै गतिविधि गर्न थाले स्थिति जटिल हुन सक्ने टिप्पणी गरेका छन्।



यसैगरी, प्रवक्ता श्रेष्ठले रास्वपाका केही समर्थकद्वारा राष्ट्रिय व्यक्तित्वको शालिकमाथि चढ्ने र झण्डा जलाउनेजस्ता गतिविधि भएको आरोप लगाउँदै ती घटनाप्रति आपत्ति जनाएका छन्। उनले यस्ता गतिविधिप्रति सार्वजनिक रूपमा माफी माग्नुपर्ने मागसमेत गरेका छन्।रास्वपाको तर्फबाट भने यस विषयमा औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन।



