काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेपछि काठमाडौं जिल्ला र महानगर कमिटीमा ठूलो सांगठनिक पहिरो गएको छ ।



पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी विधान विपरीत कार्य गरेको, नीति र सिद्धान्तमा विचलन ल्याएको तथा भनाइ र गराइमा एकरूपता कायम गर्न नसकेको गम्भीर आरोप लगाउँदै काठमाडौंका दुई सयभन्दा बढी जिम्मेवार नेता तथा कार्यकर्ताहरूले सामूहिक राजीनामा दिएका छन् ।
पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा बुझाउनेहरूमा काठमाडौं जिल्ला उपाध्यक्ष पवन केसी, महानगर अध्यक्ष केदारबहादुर धमला, चन्द्रागिरि नगर कमिटीका अध्यक्ष रञ्जन कुमार गिरी र बागमती प्रदेश सदस्य प्रदीप रानामगर रहेका छन् । उनीहरूसँगै काठमाडौँ जिल्ला अन्तर्गतका क्षेत्र, नगर, प्रदेश र वडा तहका सम्पूर्ण कमिटीका पदाधिकारी तथा क्रियाशील सदस्यहरूले सामूहिक रूपमा पद त्यागको घोषणा गरेका हुन् ।
राजीनामा घोषणा गर्दै असन्तुष्ट पक्षका नेताहरूले पार्टी नेतृत्वले संगठनलाई विधान र विधि भन्दा बाहिर लगेर सञ्चालन गरेको आरोप लगाएका छन् । पार्टी छाडेका नेताहरूले आफूहरू राप्रपाबाट अलग भए पनि आफ्नो मूल वैचारिक प्रतिबद्धता र राष्ट्रवादी सिद्धान्तबाट भने विचलित नहुने स्पष्ट पारेका छन् ।
यो सामूहिक राजीनामाले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वलाई राजधानीमा ठूलो सांगठनिक र रणनीतिक धक्का दिएको राजनीतिक विश्लेषकहरूको बुझाइ छ ।



