एसियाडको पुरुष क्रिकेटमा क्वाटरफाइनलबाट बाहिरिएको नेपाली टोली स्वदेश फर्कियो । पदकको आशा गरेको क्रिकेटमा बलियो टोली भारतसँग २३ रनले हार्दै नेपाल अन्तिम ८ बाटै बाहिरियो । तर पनि भारतविरुद्ध तारिफ योग्य प्रदर्शन गरेको नेपाली टोलीको स्वागतमा क्रिकेट समर्थक र क्यान पदाधिकारीको विमानस्थलमा बाक्लै उपस्थिति रह्यो ।

पदक जित्न नसकेपनि नेपालले समुह चरणमा मंगोलियामाथि विश्व कीर्तिमानी २७३ रन र माल्दिभ्समाथि १३८ रनको विशाल जीत निकाल्यो । मंगोलियाविरुद्धको खेलमा नेपालले १० वटा विश्व कीर्तिमान आफ्नो नाममा लेखाउन सफल भयो । यसमा पनि ३४ बलमा शतक बनाएका कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले ९ बलमा बनाएको अर्धशतक टी–ट्वेन्टी आईका दुर्लभ कीर्तिमान बन्यो । जसले समर्थकसँगै खेलाडीलाई समेत उत्साहित बनाएको छ । दिपि दाई (दीपेन्द्रसिंह ऐरी) ले बनाएको रेकर्ड तोड्न असम्भव छ, कप्तान रोहित पौडेलले बताए, बराबरीसम्म गर्न सकिन्छ ।

एक महिनाको अन्तरालमा भारतसँग दोस्रो र टी–ट्वेन्टी आईमा पहिलो पटक आमनेसामने भएको नेपालले शानदार प्रदर्शन गर्यो । जीतको लागि २०३ रनको विशाल लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १७९ रन बनायो । यो रन क्रिकेटको ३ वटै फरम्याटको विश्व वरियताको शीर्षस्थानमा रहेको भारतविरुद्ध टी–ट्वेन्टी आईमा कुनै पनि एशोसिएट राष्ट्रले बनाएको सबैभन्दा धेरै रन समेत हो । अब यही लय कायम राख्न सके नेपाललाई घरेलु मैदानमा हुने टी–ट्वेन्टी विश्वकपको एसिया छनोटमा अर्को सफल अध्याय कोर्ने मौका छ ।

अब नेपाल कार्तिक १३ गतेदेखि घरेलु मैदानमा हुने टी–ट्वेन्टी विश्वकपको एसिया छनोटमा खेल्दैछ । यसका लागि नेपालले भारतमा बन्द प्रशिक्षण राखेको छ ।

छनोटमा सहभागी ८ टोलीलाई २ समुहमा विभाजन गरिएको छ । नेपाल रहेको समुह ए मा मलेसिया, ओमान र सिंगापुर तथा समुह बी मा बहराइन, हङकङ, युएई र क्वालिफायर्स ए का साउदी अरेबिया वा कुवेत मध्ये एक टोली हुनेछन् । यसको फाइनलमा पुगेको खण्डमा नेपालले दोस्रो पटक टी–ट्वेन्टी विश्वकप खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय