काठमाडौं । राष्ट्रिय दलित पत्रकार संघको दोस्रो महाधिवेशन यही जेठ १८ र १९ गते काठमाडौंको चन्द्रागिरिस्थित मोर्डन पार्टी भेन्युमा आयोजना हुने भएको छ ।

देशभरका दलित पत्रकारहरूको व्यापक सहभागिता रहने उक्त महाधिवेशनले संघको नयाँ नेतृत्व चयन गर्नुका साथै संगठनको भावी कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ । महाधिवेशनको उद्घाटन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुहुने जानकारी दिँदै संघका अध्यक्ष विनोद पहाडीले महाधिवेशनको तयारी तीव्र गतिमा अघि बढिरहेको बताउनु भयो । उहाँले देशका विभिन्न जिल्लाबाट प्रतिनिधि, पर्यवेक्षक तथा पत्रकारहरूको सहभागिता रहने बताउनुभयो ।

दलित पत्रकारहरूको हक, हित र पेशागत सुरक्षाका लागि निरन्तर आवाज उठाउँदै आएको संघले महाधिवेशनलाई संगठनलाई थप सशक्त र प्रभावकारी बनाउने अवसरका रूपमा लिएको जनाएको छ । महाधिवेशनमा सञ्चार क्षेत्रमा दलित समुदायको वर्तमान अवस्था, चुनौती, अवसर तथा समावेशी सञ्चार नीतिका विषयमा समेत गहन छलफल हुने कार्यक्रम रहेको छ । महाधिवेशनका अवसरमा पत्रकारिता, सामाजिक रूपान्तरण, मानवअधिकार, समावेशिता तथा दलित समुदायको उत्थानका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका व्यक्तित्वहरूलाई विभिन्न विधामा सम्मान गरिने संघले जनाएको छ । यसले पत्रकारिता तथा सामाजिक क्षेत्रमा योगदान दिने व्यक्तिहरूको कामको कदर गर्दै नयाँ पुस्तालाई प्रेरणा प्रदान गर्ने विश्वास संघले लिएको छ ।

अध्यक्ष पहाडीले संघको पहिलो महाधिवेशन बुटवलमा सम्पन्न भएको स्मरण गर्दै दोस्रो महाधिवेशनले संगठनलाई थप संस्थागत, व्यवस्थित र प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले पहिलो महाधिवेशनपछि संघले दलित पत्रकारहरूको क्षमता अभिवृद्धि, पेशागत विकास तथा अधिकार स्थापनाका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्नुभयो । संघले दोस्रो महाधिवेशनलाई केवल नेतृत्व चयनको प्रक्रियामा सीमित नराखी दलित पत्रकारहरूको साझा मञ्चका रूपमा विकास गर्ने लक्ष्य राखेको जनाएको छ । महाधिवेशनबाट पारित हुने नीति तथा कार्यक्रमले आगामी दिनमा दलित पत्रकारहरूको पेशागत उन्नयन, सञ्चार क्षेत्रमा समावेशी प्रतिनिधित्वको सुनिश्चितता तथा सामाजिक न्यायको पक्षमा अझ सशक्त भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।

देशभरका दलित पत्रकारहरूलाई एक सूत्रमा बाँध्दै पेशागत एकता र सामाजिक उत्तरदायित्वलाई थप मजबुत बनाउने उद्देश्यका साथ आयोजना हुन लागेको दोस्रो महाधिवेशनले संघको आगामी यात्राका लागि महत्वपूर्ण मार्गनिर्देशन गर्ने विश्वास व्यक्त गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय