काठमाडौं । राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले पदबाट राजीनामा दिएका छन् । उनले नयाँ सरकारलाई काम गर्न सहज बनाउने उद्देश्यले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आफ्नो राजीनामा बुझाएको बताइएको छ ।



झालाई २०७९ साल असार ७ गते शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले राससको कार्यकारी अध्यक्षमा नियुक्त गरेको थियो । उनको कार्यकाल ४ वर्षका लागि तोकिएको थियो । पत्रकारिता क्षेत्रमा लामो अनुभव बटुलेका झा राससमा नियुक्त भएपछि संस्थाको संरचनात्मक सुधार, सामग्रीको गुणस्तर वृद्धि तथा डिजिटल रूपान्तरणमा केही पहलहरू थालेका थिए ।
उनको राजीनामासँगै राससको नेतृत्व अहिले खाली हुने भएको छ । नयाँ सरकारले अब उक्त पदमा कसलाई नियुक्त गर्छ भन्ने विषय पनि चासोको विषय बनेको छ । राजनीतिक नियुक्तिहरूको पुनरावलोकन गर्ने क्रम जारी रहँदा आगामी दिनहरूमा अन्य निकायमा पनि यस्तै राजीनामाहरू आउने सम्भावना देखिएको छ ।



