काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी आइतबार पोखरामा आयोजना गर्ने भनिएको ‘परिवर्तन उद्घोष’ चुनावी सभा स्थगित गरेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को तयारीस्वरूप २०८२ फागुन १० गते कास्कीको पोखरामा सभा गर्ने कार्यक्रम तय गरिएको थियो ।
संगठनात्मक प्राथमिकता निर्धारण, रणनीतिक व्यवस्थापन तथा आन्तरिक तयारीसँग सम्बन्धित विशेष कारण देखाउँदै रास्वपाले सभा हालका लागि स्थगित गरिएको जनाएको छ ।



पार्टीका उपसभापति डोलप्रसाद अर्यालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को तयारीको क्रममा फागुन १० गते पोखरामा ‘परिवर्तन उद्घोष’ सभा गर्ने पूर्वनिर्धारित कार्यक्रम संगठनात्मक प्राथमिकता र रणनीतिक व्यवस्थापन लगायतका कारणले हाललाई स्थगन गर्ने निर्णय गरिएको व्यहोरा जानकारी गराइन्छ” भनि उल्लेख गरिएको छ ।
रास्वपाले यसअघि शनिबार भैरहवामा आयोजना गर्ने भनिएको कार्यक्रम पनि स्थगित गरिसकेको छ । लगातार दुई कार्यक्रम स्थगित भएपछि पार्टीको चुनावी रणनीतिमा पुनर्संरचना भइरहेको अनुमान गरिएको छ । निर्वाचनको मिति नजिकिँदै गर्दा रास्वपाले देशका विभिन्न जिल्लामा ‘परिवर्तन उद्घोष’ कार्यक्रममार्फत आफ्नो एजेण्डा प्रस्तुत गर्ने तयारी गरेको थियो ।



