काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बीच ७ बुँदे ‘बृहत् एकता’ सम्बन्धी महत्वपूर्ण सहमति भएको छ । आज बिहान सवा ४ बजे सम्पन्न हस्ताक्षर समारोहमार्फत दुवै पक्षले राजनीतिक एकताको औपचारिक घोषणा गरेका हुन् ।सहमति अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने नै कायम रहनेछन् भने आसन्न प्रतिनिधि सभा निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा बालेन्द्र शाहलाई अघि सारिने भएको छ । यो सहमतिलाई वैकल्पिक र परिवर्तनकामी राजनीतिक शक्तिहरूको एकीकृत प्रयासका रूपमा हेरिएको छ ।
सहमति पत्रमा सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा आधारित बहुलवादी लोकतान्त्रिक प्रणालीभित्र असल शासन स्थापना गर्दै आम नागरिकका आकांक्षा सम्बोधन गर्ने साझा प्रतिबद्धता व्यक्त गरिएको छ । भ्रष्टाचार, कुशासन र राजनीतिक विकृतिविरुद्ध युवाहरूले सञ्चालन गरेका आन्दोलनहरू—विशेष गरी भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनलगायत विभिन्न कालखण्डका जनआन्दोलनबाट उठेका आवाजलाई संस्थागत रूपमा अघि बढाइने उल्लेख गरिएको छ ।



बृहत् एकतापछि पार्टीको संगठनात्मक संरचना थप सक्षम, पारदर्शी र फराकिलो बनाइने सहमति भएको छ । योग्य, समावेशी, सार्वजनिक छवि भएका युवा अभियन्ता तथा अनुभवी विज्ञहरूलाई जिम्मेवारी दिँदै पार्टीलाई जनमुखी र परिणाममुखी बनाइने उल्लेख गरिएको छ । साथै, राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह ‘घण्टी’मै गोलबद्ध भई अन्य परिवर्तनकामी, सुसंस्कृत राजनीतिक शक्ति, समूह तथा व्यक्तिहरूलाई समेत सहकार्यका लागि आह्वान गर्ने निर्णय गरिएको छ ।
हस्ताक्षर समारोहमा रास्वपाका उपसभापति डा। स्वर्णिम वाग्ले र डीपी अर्यालको उपस्थिति रहेको थियो । वार्ता टोलीमा रास्वपातर्फ असिम साह र शिशिर खनाल सहभागी थिए भने बालेन शाहको तर्फबाट कुमार बेन भुपदेव साह वार्तामा संलग्न थिए । कार्यक्रममा निश्चल बस्नेत, केपी खनाल, आसिफ साहलगायतको समेत उपस्थिति रहेको थियो ।
सहमति पश्चात रास्वपा सभापति रवि लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै “सहमति नेताले खोजेजस्तो होइन, देशलाई चाहिएको जस्तो हुनुपर्छ” भन्ने सन्देश व्यक्त गर्नुभएको छ । उहाँले यो एकता सत्ता प्राप्तिभन्दा पनि देश निर्माण र प्रणाली सुधारको अभियान भएको उल्लेख गर्नुभएको छ ।
यता, उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ भने यस सहमतिमा समावेश हुनु भएको छैन । रास्वपा र बालेन शाह दुवैसँग निरन्तर संवादमा रहे पनि घिसिङले आफ्नो पार्टीको अस्तित्व मेटिने गरी एकता नगर्ने अडान लिँदै आउनुभएको थियो । उहाँले नयाँ राजनीतिक शक्तिहरूले सबैको अस्तित्व स्वीकार गर्दै सम्मानपूर्वक एकताबद्ध हुनुपर्ने आवश्यकता औँल्याउँदै आउनुभएको छ ।एकतापछि कायम हुने पार्टीको नाम र जिम्मेवारी बाँडफाँटप्रति कुलमान घिसिङको असन्तुष्टि रहेको बताइएको छ । यद्यपि, नेताहरूका अनुसार घिसिङसँग आगामी दिनमा एकताको सम्भावना कायमै रहेको छ ।यो सहमतिलाई नेपाली राजनीतिमा वैकल्पिक शक्तिहरूको ठूलो ध्रुवीकरणको सुरुआतका रूपमा हेरिएको छ भने यसले आगामी निर्वाचन र राष्ट्रिय राजनीतिमा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ ।



