रौतहटको सबैभन्दा चर्चित बनेको रुबी साह हत्या प्रकरणमा संलग्न भनिएका मुख्य आरोपी लक्ष्मण पासवानलाई प्रहरीले जलेको अवस्थामा पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी राजु कार्कीका अनुसार पासवान आफैंले डिजेल खन्याएर शरीरमा आगो लगाएको अवस्थामा फेला परेका हुन्। माधवनारायण नगरपालिका–६, माधोपुर पछाडिको आँपको बगैंचा–बिसुनपुरवा मानपुर जाने बाटोमा स्थानीयले देखेपछि प्रहरी चौकी माधोपुर र जिल्ला प्रहरी कार्यालयको टोलीले उनलाई तत्काल उद्धार गरी प्रादेशिक अस्पताल गौरमा उपचारका गरी थप उपचारका लागि काठमाडौं पठाइएको छ ।

उनका टाउकोसहित शरीरको अधिकांश भाग जलेको र बोल्नसमेत कठिन भएको प्रहरी स्रोतले जनाएको छ। हाल उनको अवस्था गम्भीर भए पनि प्रहरीले अनुसन्धान अघि बढाइरहेको छ।

गत शनिबार राति गौर–सिर्सिया सडकखण्ड अन्तर्गत मुडवलवा रोड नजिक डोरीले बाँधिएको अवस्थामा २६ वर्षीया रुबी देवी साहको शव सुटकेसभित्र फेला परेको थियो। अनुसन्धानबाट खुलेको प्रारम्भिक विवरण अनुसार, पासवानले गौरस्थित भाडाको घरमा रुबीको हत्या गरी शव सुटकेसमा हालेर इ–रिक्सामा सार्ने प्रयास गरेका थिए। तर, इ–रिक्सा बिग्रिएपछि सुटकेस त्यही छाडेर भागेका थिए। प्रहरीले ५०० रुपैयाँमा भाडामा गएका रिक्साचालकलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा आरोपी पासवानसम्न पुगेको हो।

मृतक रुबी साह हाल गौर–२, महादेवपाट्टीमा डेरा गरी बस्दै आएकी थिइन्। उनी माधवनारायण–६, मधोपुरकी सुनिच्छा देवीकी छोरी हुन्।रुबीको विवाह भारत, बिहार, मुजफ्फरपुरका शिवकुमार साहसँग भएको थियो। उनको ४ वर्षको एक छोरा रहेको छ।

यो घटना केवल एउटा आपराधिक मुद्दा मात्र नभई समाजको संवेदनशील पारिवारिक र व्यक्तिगत सम्बन्धसँग जोडिएको अपराध हो। प्रारम्भिक सूचनाअनुसार रुबी र पासवानबीच प्रेमसम्बन्ध रहेको पुष्टि भएको छ ।

सम्बन्धमा विग्रिएको मनोविज्ञान र आवेगले अपराधलाई जन्म दिएको आशंका गरिएको छ।घटनाले सामाजिक संरचना र महिला सुरक्षाप्रति गम्भीर प्रश्न खडा गरेको छ। रुबी साह हत्या प्रकरणले रौतहट मात्र नभई देशभर चासो पाएको छ। पारिवारिक जिम्मेवारी, असुरक्षा, अविश्वास र आवेगात्मक निर्णयले समाजमा कस्तो विनाशकारी रूप लिन सक्छ भन्ने उदाहरण यस घटनाले देखाएको छ। हाल प्रहरी अनुसन्धान जारी छ र मुख्य आरोपी उपचारपछि प्रत्यक्ष बयान दिन सक्ने अवस्थामा पुगेपछि घटना अझ स्पष्ट हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय