काठमाडौं । युवालाई सीपयुक्त बनाउँदै रोजगारी तथा आत्मनिर्भरताको अवसर सिर्जना गर्ने उद्देश्यसहित ओलगापुरी सोसल इन्टरप्राइजले निःशुल्क आवासीय व्यवसायिक तालिम सञ्चालन गर्ने भएको छ । नेपाल युथ फाउन्डेसनको आर्थिक तथा प्राविधिक सहयोगमा स)चालन हुन लागेको उक्त तालिम २०८३ साउन ७ गते देखि सुरु हुने संस्थाले जनाएको छ ।

संस्थाद्वारा जारी सूचनामा रोजगारीको अवसरबाट वञ्चित रहेका युवा तथा युवतीलाई लक्षित गरी चारवटा व्यवसायिक विषयमा तालिम संचालन गर्न लागिएको हो । तालिममा सहभागी हुने प्रशिक्षार्थीलाई सैद्धान्तिक ज्ञानसँगै कार्यस्थलमा आधारित On-the-Job Training (OJT) समेत प्रदान गरिने व्यवस्था गरिएको छ, जसबाट सहभागीले व्यावहारिक अनुभव हासिल गर्न सक्नेछन् ।

यस कार्यक्रमअन्तर्गत सहायक प्लम्बर (Assistant Plumber), बिल्डिङ इलेक्ट्रिसियन (Building Electrician), सहायक वेल्डर (Assistant Welder) तथा फर्निचर मेकर (Furniture Maker) सम्बन्धी तालिम सञ्चालन गरिनेछ। सहायक प्लम्बर, बिल्डिङ इलेक्ट्रिसियन र सहायक वेल्डर विषयमा ३ महिनाको कक्षागत तालिम र ३ महिनाको OJT सञ्चालन हुनेछ भने फर्निचर मेकर विषयमा ३ महिनाको कक्षागत तालिम र ५ महिनाको OJT रहनेछ। संस्थाले इच्छुक युवालाई २०८३ साउन १७ गतेसम्म सम्पर्क गरी आवेदन प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ ।

तालिममा सहभागी हुन इच्छुक आवेदकले कम्तीमा कक्षा ५ उत्तीर्ण, १५ वर्ष पूरा भई ३५ वर्ष ननाघेको, बेरोजगार, विपन्न तथा उच्च शिक्षाबाट वञ्चित युवा हुनुपर्नेछ । साथै, तालिम पूरा गरी सोही क्षेत्रमा काम गर्न इच्छुक व्यक्तिलाई प्राथमिकता दिइने सूचनामा उल्लेख छ ।

तालिम ओलगापुरी सोसल इन्टरप्राइज, ओलगापुरी भोकेसनल स्कुल, ललितपुर महानगरपालिका–२२, चुनिखेल, बुङ्गमती, ललितपुरमा संचालन हुनेछ । थप जानकारीका लागि संस्थाको कार्यालय वा उपलब्ध फोन तथा इमेलमार्फत सम्पर्क गर्न सकिने जनाइएको छ ।

संस्थाले यस कार्यक्रमले युवामा प्राविधिक दक्षता अभिवृद्धि गर्नुका साथै स्वरोजगार र रोजगारीका अवसर विस्तार गर्न महत्वपूर्ण योगदान पुर्याउने छ । निःशुल्क आवासीय सुविधासहित संचालन हुने यो तालिम आर्थिक रूपमा कमजोर तथा अवसरको खोजीमा रहेका युवाका लागि उपयोगी अवसरको रूपमा लिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय