रोशी खोलामा आएको बाढीले बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकका तीन स्थानमा निर्माण गरिएको अस्थायी डाइभर्सन बगाएको छ। बाढीले क्षति पुर्‍याएपछि पुनःनिर्माण भइरहेको राजमार्गमा यातायात सञ्चालनमा थप समस्या भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन विष्टका अनुसार नमोबुद्ध नगरपालिका–६ को चौकीडाँडा, रोशी गाउँपालिका–७ को घुमाउने र रोशी–११ को कालढुंगामा रोशी खोलामा आएको बाढीले अस्थायी डाइभर्सन बगाएको हो।

बाढीका कारण डाइभर्सन बगाएपछि उक्त स्थानमा सडक सम्पर्क प्रभावित भएको प्रहरीले जनाएको छ। लगातार वर्षा भइरहेकाले रोशी खोलामा पानीको बहाव बढ्दा अस्थायी संरचनामा क्षति पुगेको हो। बीपी राजमार्ग यसअघि नै बाढीपहिरोका कारण विभिन्न स्थानमा प्रभावित हुँदै आएको छ। राजमार्ग पुनःनिर्माणका क्रममा सवारी आवागमन सहज बनाउन निर्माण गरिएका अस्थायी डाइभर्सनसमेत बाढीले बगाएपछि सडक सञ्चालन थप चुनौतीपूर्ण बनेको छ।

यसैगरी, बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकका विभिन्न स्थानमा पहिरोसमेत खसेको छ। नमोबुद्ध नगरपालिका–६ को चौकीडाँडा, रोशी गाउँपालिका–७ को चारसयवेशी, रोशी–८ को गिम्दीवेशी र रोशी–११ को माम्तीमा पहिरो खसेको प्रहरीले जनाएको छ। एकातर्फ खोलामा आएको बाढीले अस्थायी डाइभर्सन बगाएको र अर्कोतर्फ विभिन्न स्थानमा पहिरो खसेका कारण बीपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा यातायात सञ्चालन प्रभावित भएको छ।

लगातार वर्षा भइरहेकाले खोलाको बहाव र पहिरोको जोखिम कायमै रहेको प्रहरीले जनाएको छ। सडकको अवस्था सामान्य नभएसम्म यात्रु तथा चालकलाई जोखिम मोलेर यात्रा नगर्न र यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन आग्रह गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय