नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको शपथ ग्रहण समारोह भव्य बनाइएको छ । स्वस्ति शान्तिदेखि अष्टमंगल वाचन र शंखनादसहित शपथ समारोह सम्पन्न गरिएको हो । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित शपथ ग्रहण समारोह नेपालको इतिहासमा विशेष र स्मरणीय रह्यो ।
नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको शपथका लागि १–२–३–४ को विशेष संयोगमा अर्थात् दिउँसो १२ः३४ बजेका लागि मुहूर्त तय गरिएको थियो । यो समयलाई अत्यन्त शुभ मानिएको छ । विगतका शपथ ग्रहण समारोहमा सामान्य रुपमा सम्पन गर्ने परम्परा रहे पनि यो पटकको शपथ ग्रहण समारोहलाई परम्परागत र सांस्कृतिक बनाइएको थियो । सात जना ब्राह्मणबाट शंखनाद गर्दै शपथ समारोह सुरु गरिएको थियो । भने १०८ जना हिन्दू बटुकहरूले स्वस्ति वाचन गरेका थिए । यस्तै बौद्ध परम्पराअनुसार १०७ भिक्षुहरूले अष्टमंगल पाठ गरेका थिए ।



शपथ ग्रहण समारोहलाई बहुसांस्कृतिक नेपालको प्रतिनिधित्व गर्ने गरी विशेष बनाइएको थियो । समारोह स्थलमा मिथिला संस्कृति र किराती संस्कृति झल्काउने दुई प्रमुख सांस्कृतिक प्रतीक राखिएका । मिथिला संस्कृति झक्लिने ‘मिथिला आर्ट’ र किराती संस्कृति झल्किने ‘सिलाम साक्मा’ ले नेपालको सांस्कृतिक विविधतालाई सम्मान गर्दै एकतामा विविधताको सन्देश दिन खोजिएको थियो ।
‘सिलाम साक्मा’ प्रधानमन्त्री शाहले संसदको सपथ ग्रहरण गर्दा समेत लगाउनु भएको थियो । सपथ ग्रहण समारोहमा भगवान शिव र पार्वतीको भेषमा दुई जना (महिला–पुरूष) पनि देखिन्थे । शपथ ग्रहण समारोह परम्परागत शैलीमा आयोजना गरिएका कारण गरिमामय देखिन्थ्यो । राष्ट्रपति कार्यालयमा पूर्व प्रधानमन्त्रीहरु, विभिन्न दलका नेता, उच्च पदाधिकारी, निवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँगै र समर्थकहरूको उपस्थिति थियो । पूर्वप्रभानमन्त्री एवम एमाले अध्यक्ष केपी शर्मा ओली उपस्थीत हुनु भएन । यस्तै देशबाहिर रहेकाले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा समारोहमा आउनु भएन भने कांग्रेस सभापति गगन थापा पनि उपस्थित हुनु भएको थिएन । यद्यपि देउवा र थापाले सामाजिक सञ्जालमार्फत् नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई सफल कार्यकालको शुभकामना दिनुभएको छ ।प्रधानमन्त्री शाहको शपथ ग्रहणलाई नेपालको नयाँ राजनीतिक युगको सुरुवातका रूपमा हेरिएको छ । र्यापरबाट राजनीतिमा आएका बालेनको जितलाई जेनजी पुस्ताको जागरण र उक्त पुस्ताले चाहेको परिवर्तनका रूमा लिइएको छ ।



